पर्वत/समुद्री सतहदेखि तीन हजार तीन सय मिटरको उचाईमा रहेको पर्वत जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालाञ्जर पहाडमा खगोल अध्ययन केन्द्र सञ्चालन गर्ने तयारी थालिएको छ । पर्वत जिल्लाको सवैभन्दा उचाईमा रहेको स्थान भएकाले विज्ञान, प्रविधि तथा पर्यटन प्रवद्र्धनलाई एकसाथ जोड्ने उद्देश्यसहित जलजला गाउँपालिकाले खगोल अध्ययन केन्द्र स्थापना गर्न थालेको हो ।
गाउँपालिकाले अगोल विज्ञानसँग सम्वन्धित विज्ञ तथा इन्जिनियरहरु परिचालन गरी आवश्यक अध्ययन अनुसन्धान गरी अध्ययन केन्द्र स्थापना गर्न उपयुक्त स्थानको रुपमा पहिचान गरेर योजना अघि बढाएको हो । एकै स्थानवाट झण्डै एक दर्जन जिल्ला सदरमुकामहरुको दृश्याबलोकन गर्न सकिने, नजिकबाट तारामण्डल, र सौर्यमण्डल, ग्रह, उपग्रह, चन्द्रमा लगायतका आकासीय पिण्डबारे अध्ययन, अवलोकन तथा जानकारी प्रदान गर्न सकिने भएकाले यो ठाउँ खगोल अध्ययन केन्द्र स्थापनाका लागि उयुक्त रहेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाका जनप्रतिनिधि र विज्ञहरुसहितको टोलीले भारतको नैनीतालमा रहेको खगोल अध्ययन केन्द्र अवलोकनपछि कालाञ्जरको योजना अघि बढेको हो ।

केन्द्र स्थापनाका लागि योजना निर्माण गरी संघीय सरकारको राष्ट्रिय योजना आयोग, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)मा पेश गरिएको छ । अध्यक्ष आचार्यका अनुसार आगामी आर्थिक वर्षको बजेटमा उक्त बिषय समावेश भई बजेट बिनीयोजन भएपछि काम अघि बढाईने भएको छ । उक्त केन्द्र सञ्चालनमा आएपछि विद्यार्थी, अनुसन्धानकर्ता तथा आन्तरिक एवं बाह्य पर्यटकलाई ब्रह्माण्ड, ग्रह–नक्षत्र, तारापुञ्ज तथा आकासीय घटनाबारे प्रत्यक्ष अवलोकन र अध्ययन गर्न सहज हुने भएको छ ।
कालाञ्जर क्षेत्रको भौगोलिक अवस्थिति, कम प्रकाश प्रदूषण तथा स्वच्छ आकाश खगोल अध्ययनका लागि उपयुक्त मानिएकाले केन्द्र स्थापना गर्न लागिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । प्रारम्भिक चरणमा आधुनिक दूरबिन (टेलिस्कोप) जडान, खगोल अवलोकन प्लेटफर्म निर्माण तथा विज्ञानसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ । साथै विद्यालय तथा कलेजका विद्यार्थीलाई लक्षित गरी खगोल विज्ञानसम्बन्धी प्रशिक्षण, अन्तरक्रिया र अवलोकन कार्यक्रमसमेत सञ्चालन गरिने तयारी छ ।
स्थानीयवासी टिका पुनले केन्द्र सञ्चालनमा आएपछि कालाञ्जर, हम्पाल र जलजला क्षेत्रको पर्यटन विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । धार्मिक तथा प्राकृतिक महत्व बोकेको कालाञ्जर अब विज्ञान पर्यटनको केन्द्रका रूपमा समेत परिचित बन्न सक्ने अपेक्षा गरिएको छ । सरोकारवाला निकायका अनुसार केन्द्र स्थापना सम्बन्धी आवश्यक प्राविधिक अध्ययन, सम्भाव्यता मूल्याङ्कन तथा साझेदारीका विषयमा समेत छलफल भइरहेको छ ।
प्रारम्भिक चरणमा आधुनिक टेलिस्कोप जडान, सौर्यमण्डलको संरचनासम्बन्धी प्रदर्शनी कक्ष निर्माण तथा विद्यार्थीलाई लक्षित विज्ञानसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ । शुरुवाती चरणका लागि यहाँ पुग्ने अध्ययन, अनुसन्धानकर्ता र विद्यार्थीको आवासका लागि पालिकाले झण्डै रु. एक रोड खर्च गरेर आवास समेत निर्माण गरिसकेको छ भने हेलीप्याड, सडकमार्ग समेत तयार भैसकेको जलजला गाउँपलिकाका उपाध्यक्ष दिपक आचार्यले जानकारी दिनुभयो ।
यहाँ खगोल अध्ययन केन्द्र स्थापना पछि विद्यार्थीले पुस्तकमा मात्र पढ्ने ग्रह, तारा, चन्द्रमा, सूर्यलगायतका विषय प्रत्यक्ष अवलोकन गर्न पाउने भएकाले विज्ञानप्रतिको रुचि बढ्ने भएको छ भने खगोल तथा अन्तरिक्ष विज्ञानबारे अनुसन्धान र अध्ययन गर्ने वातावरण तयार हुने अपेक्षा गरिएको छ । विद्यालय तथा कलेजका विद्यार्थीलाई प्रयोगात्मक शिक्षामा सहयोग पुग्नुका साथै विज्ञान र प्रविधिप्रति युवापुस्ताको आकर्षण बढेर नयाँ आविष्कार र अनुसन्धानतर्फ प्रेरणा मिल्ने स्थानीय शिक्षक नारायण मल्लले जानकारी दिनुभयो ।
यसैगरी कालाञ्जर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्नुका साथै होटल, यातायात, स्थानीय व्यापार तथा रोजगारीका अवसर वृद्धि हुने अपेक्षा गाउँपालिकाको रहेको छ । धार्मिक र प्राकृतिक पर्यटनसँगै “विज्ञान पर्यटन” को नयाँ पहिचान स्थापित हुन सक्ने भएकाले गाउँपालिकाले यसलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । कालाञ्जर, हम्पाल र जलजला क्षेत्रको एकीकृत विकासका लागि मोदी गाउँपालिका र जलजला गाउँपालिकाले प्रदेश तथा संघीय सरकारसँगको सहकार्यमा करोडौ लगानी गरिसकेका छन् । जलजलामा रहेको समथर भुभागमा कृत्रिम ताल निर्माणको योजना समेत अघि बढाईएको छ ।






