आफ्नै लोगो र ‘पालिका गान’ तयार पार्दै विहादी गाउँपालिका

पर्वत / जिल्लाको बिहादी गाउँपालिकाले आफ्नै प्रतीक चिन्ह (लोगो) र पालिका गान निर्माण गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक योजना तथा कार्यक्रम अनुसार गाउँपालिकाको ऐतिहासिक, भौगोलिक, पर्यटकीय, सामाजिक, धार्मिक, सांस्कृतिक लगायतका पहिचानलाई संस्थागत गर्नका लागि चिन्ह र गान बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले बताए । स्थानीय विशेषतालाई उजागर गर्नका लागि खुला प्रतिस्पर्धात्मक विधिबाट निर्माणका लागि विज्ञापन आह्वान गरिएको छ ।

गाउँपालिकाको लोगोमा गाउँपालिकाको नाम, नाराका रूपमा ‘समुन्नत विहादी, सम्मानित विहादीवासी’ र नेपालको झन्डा अनिवार्य रूपमा समावेश भएको हुनुपर्ने भनिएको छ । प्रयोग भएका सङ्केतहरूको सङ्क्षिप्त व्याख्या हुनुपर्ने, अन्य लोगोसँग मेल खाएको हुन नहुने, मौलिकता झल्किएको हुनुपर्ने सर्त राखिएको छ । प्रतीक चिन्हको मूल्याङ्कन गाउँपालिकाको कार्यालयद्वारा गठित मूल्याङ्कन तथा सिफारिस समितिबाट हुने अध्यक्ष गुरुङले बताए । छनोट भएको लोगोको निर्माणकर्तालाई पुरस्कार स्वरूप २५ हजार रुपैयाँ उपलब्ध गराउने गाउँपालिकाले घोषणा गरेको छ ।

यस्तै गाउँपालिकाको गानमा गाउँपालिकाको ऐतिहासिक, भौगोलिक, पर्यटकीय, सामाजिक, धार्मिक, सांस्कृतिक लगायतका पहिचान र स्थानीय विशेषता झल्किएको हुनुपर्ने सर्त राखिएको छ । गान कम्तीमा ३० देखि बढीमा ४६ शब्दसम्मको हुनुपर्ने, अन्य गानहरूसँग मेल खाएको हुन नहुने भनिएको छ । गाउँपालिकाको कार्यालयद्वारा गठित मूल्याङ्कन तथा सिफारिस समितिबाट छनोटमा पर्ने गानका रचनाकारलाई पुरस्कार स्वरूप १५ हजार रुपैयाँ उपलब्ध गराउने गाउँपालिकाले बताएको छ ।