मत परिवर्तन गर्न विदेशमा रहेको छोराले सल्लाह दिएपछि वुवाले छोरालाई लेखेको पत्र

प्यारो छोरा,
शुभ आशीर्वाद

तिम्रो एसएमएस अहिले भर्खरै पढें। केही लेख्दै छु, अन्यथा लिने छैनौ है। नजिक आइरहेको चुनावमा भोट दिन तिमीले सल्लाह दियौ, खुसी लाग्यो। सात समुद्रपारि दुःख गरेर बसेको छोराले देश सम्झियो, बा-आमा सम्झियो।

छोरा, तिमीलाई थाहा छ, मलाई राजनीति भनेको केही थाहा छैन, झन् तिम्री आमाको त कुरै छोडौं।

तिमी सिकिस्त बिरामी हुँदा स्वास्थ्य संस्थासम्म पु¥याइदिएर रातभरि सँगै बस्ने, गाह्रोसाह्रोमा मन खोलेर सहयोग गर्ने, कसैलाई नराम्रो शब्द नबोल्ने अनि साना-ठूला, बूढापाकासँग सल्लाह गरेर योजना बनाई काम गर्ने, ठाउँ बुझेको, गाउँ बुझेको, भूगोल बुझेको उम्मेदवार पनि भोट माग्दै हिँडेको देख्छु। वल्लो घर-पल्लो घर पनि त्यस्तै मान्छेलाई भोट दिनुपर्छ है भनेर सल्लाह गर्दैछन्।

छोरा, तिमी परदेश गएको १५ वर्ष भयो। तिमीलाई एसएलसीपछि काठमाडौं पढ्न पठाउँदा त्यो ठूलो नदीमा हामी दुवै बाबु-छोरा भासिएका थियौं नि हो, त्यहाँ कत्रो पुल बनेको छ, सरर गाडीहरू कुद्छन्। यस्ता पुल र झोलुङ्गे पुल त गन्नै नसकिने भए। तिमीले घरबाट माटो-गोबर लगेर लिपेका स्कुलहरू ठूला भवन भएका छन्, अस्पताल बनेका छन्, सडक बनेका छन्। खेत जोत्दा तिल्के गोरुलाई फाली लागेर गह्रै रक्ताम्मे भएको तिमीलाई याद होला है? अहिले त ट्र्याक्टरहरूले एकै छिनमा खेत जोत्छन्।

धेरै कुरा भएका छन् छोरा यहाँ। तिमीलाई केही भएन, देश बर्बाद भयो भनेर नानाभाँतीका नराम्रा कुरा मात्र लेखेर पठाए होलान्, तर वास्तविकता त्यस्तो छैन। धेरै धेरै विकास भएका छन्। देशजस्तो हुनलाई साधन-स्रोतको कमी त पक्कै छ।

गर्न धेरै बाँकी भएको कुरा चाहिँ सत्य हो है छोरा। अनि छोरा, सक्छौ भने एउटा कुरा सबैलाई सम्झाइदेऊ न है। यहाँ धेरै मान्छे घरमा दुःख गर्दैनन्, अनावश्यक गफ गर्दछन्, देशको बारेमा राम्रा भन्दा नराम्रा कुरा गर्दछन्, मिहिनेतमा होइन हावामा फाइदा खोज्दछन्, हाम्रो आफ्नै किसिमको आदर-सम्मान र संस्कार हराउँदै गएको छ। यी सबै कुरामा कसरी सुधार गर्ने भन्नेमा चासो राखिदेऊ। तिमीजस्ता परदेशमा रहेका धेरै छोरा-छोरीहरूले यसबारेमा पक्कै सुधारका कुरा ल्याउनेछौ। तिमीहरू नै हाम्रो सहारा हौ।

बुबालाई भोट खसाउन सम्झाएको, उल्टै बुबाले हामीलाई सम्झाउनु भयो भनौला। छोरा, तिमी परदेश बुझ्दैछौ र हामी देश बुझ्दैछौं। छोरा, गुगलको रमाइ र भूगोलको भोगाइ फरक हुन्छ। गुगलबाट चमत्कार गर्छु भनेर गुड्डी हाँक्नेहरू भूगोलबाट भागिसके। भूगोललाई समृद्ध बनाएपछि मात्र गुगलमा रमाउन सकिन्छ।

विकसित देश पहिले भूगोलमा समृद्ध भए अनि गुगलमा रमाए। पहिले त हामीले भूगोलकै चिन्तन गर्नुपर्छ र त्यसको उन्नतिमा दर्शन, सिद्धान्त, विचार र निरन्तर काम गर्नेलाई भोट दिनुपर्छ भन्ने यहाँका युवा-पाका सबैको एकमुष्ट सल्लाह छ। कसैको दुईदिने लहैलहैमा लाग्नु हुँदैन भन्ने कुरामा सबै सहमत छन्। सबैले परदेशमा रहेका आफ्ना आफन्तलाई यही खबर पठाएका छन् रे। त्यसैले मैले पनि तिमीलाई सम्झाएको छु।

उही तिम्रो दुखी बाबु
थाप्लेभीर, नेपाल

( सिन्धुलीको दुधौली नगरपालिकाका शिक्षक शम्भु दाहालले अहिलेको नयाँ राजनीतिक लहरको पछि लाग्ने आफ्नो छोराका लागि लेख्नुभएको पत्र)
#highlight