पर्वतमा १६ जना भुकम्पपीडितले मात्र तेस्रो किस्ता बुझेको पुन:निर्माण प्राधिकरणको रिर्पोट

मंसीर २५, पर्वत/जिल्लाका भूकम्पपीडितहरुले  तेस्रो किस्ताको रकम पाएका छन् ।  नयाँ घरनिर्माण गरिसकेका लाभग्राहीलाई तेस्रो किस्ता बितरणको काम भैरहेको राष्ट्रिय पुननिर्माण आयोजना कार्यान्वयन ईकाइ पर्वतले जनाएको छ । तर, तेस्रो किस्ता लिनेको संख्या न्यून छ । लाभग्राहीले घर निर्माण पुरा गरेपछि मात्रै तेस्रो किस्ताको रकम पाउँछन् ।
जिल्लाका विभिन्न स्थानीय तहबाट घर सम्पन्न गरी तेस्रो किस्ता माग गर्ने लाभग्राहीको निवेदन आउन थालेपछि अन्तिम किस्ता दिइएको हो । अहिलेसम्म पर्वतमा १६ जनाले मात्रै तेस्रो किस्ताबापतको रकम लगेका छन् । सबैलाई अन्तिम किस्ता भुक्तानी गर्न थालिएको राष्ट्रिय पुन:निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइका प्रमुख जगदीश शर्माले जानकारी दिनुभयो  । भूकम्पबाट पूर्ण क्षति पुगेका जिल्लाका पाँच हजार २६९ घरमध्ये हालसम्म एक हजार ५८० घर मात्र निर्माण भएका छन् । घर निर्माणाधिन अवस्थामा रहेका र निर्माण गरिसकेका एक हजार पाँच सय ८० लाभग्राहीले अहिलेसम्म दोस्रो किस्ताको रकम समेत बुझिसकेका छन् । तीमध्ये १६ जनाले मात्र तेस्रो किस्ता बुझेको शर्माले बताउनुभयो ।  पहिलो किस्ताको रकम लगेका चारहजार आठ सय ३२ जनामध्ये तीन हजार २५२ जनाले घर निर्माण गर्न शुरु नै गरेका छैनन् । चारसय ३७ जनाले पहिलो किस्ताको रकम समेत बुझेका छैनन् । पहिलो किस्ता बापतको रकम रु २४ करोड १६ लाख लाभग्राहीलाई भुक्तानी गरिसकिएको छ । दोस्रो किस्ताबापतको रकम रु २३ करोड ७० घर बनाएकाले भुक्तानी लगिसकेको छन । त्यस्तै तेस्रो किस्ताबापत रु १६ लाख पनि लाभग्राहीलाई वितरण गरि सकिएको छ । जिल्लामा कतिपयले पहिलो किस्ता लगेर पनि घर बनाएका छैनन् । कसैले पुरानै घर टालेर बसिरहेका छन् । हालसम्म पूर्ण क्षतिमा परेर घर निर्माण गर्नेका लागि मात्र रु ४८ करोड दुई लाख भुक्तानी गरिसकिएको आयोजनाले जनाएको छ । आंशिक क्षतिमा परेका एकसय १३ जनाले रु एक लाख  लिइसकेको पनि कार्यालयले जनाएको छ ।