जनप्रतिनिधिले कर्मचारी माथि अभद्र व्यवहार गरेपछि गाउँपालिकाले गर्यो सबै सेबा बन्द

पर्वत/जनप्रतिधिले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित अन्य कर्मचारीलाई अभद्र व्यवहार गरेपछि जलजला गाउँपालिकाले पालिकाले प्रवाह गर्दै आएको सबै सेवा मंगलबारदेखि अनिश्चितकालका लागि स्थगित गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले विज्ञप्ति नै प्रकाशन गरेर सबै सेवा बन्द गरिएको जानकारी दिनुभएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यद्वारा जारी विज्ञप्तीमा जिम्मेवार जनप्रतिनिधिबाट प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै प्रवेश गरि धम्काउने, नेम प्लेट र सूचना अधिकारीको बोर्ड फाल्ने र अन्य शाखाका कर्मचारीलाई समेत धम्की दिने र अभद्र व्यवहार गर्ने काम भएको उल्लेख छ ।

कर्मचारीहरूले यसअघि गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यलाई ज्ञापन पत्र समेत बुझाएका थिए । ज्ञापन पत्रमा पनि कर्मचारीहरूले आफूहरूलाई सहज रूपमा काम गर्ने वातावरण नहुँदासम्म सेवा सुचारू नगर्ने चेतावनी दिएका छन् ।

लोकसेवा आयोगबाट कर्मचारी परिपुर्ती भएपछि करार कर्मचारी विस्थापित हुनुपरेको निहुँमा केही वडा अध्यक्षहरूले उक्त व्यवहार गरेको वताएको छ । दुईजना एचए कर्मचारी लोक सेवाबाट छनौट भएर आएपछि करार कर्मचारी स्वत: हट्नुपर्ने प्रावधानको विरूद्धमा वडा अध्यक्षले आक्रोस पोखेका हुन् । यस्तो व्यवहार गर्नेमा केही वडा अध्यक्ष र कार्यपालिका सदस्य भएको एक कर्मचारीले जानकारी दिए ।

कर्मचारीबाट उत्कृष्ट कार्यसम्पादन गरेर जिल्लामै प्रथम गाउँपालिका हुँदापनि जनप्रतिनिधिको स्वार्थ पुरा नभएको र आफूहरूमाथि निरन्तर अभद्र व्यवहार हुँदै आएको प्रति कर्मचारीहरूले चित्त दुखाएका छन् । जनप्रतिनिधिहरूको कर्मचारीप्रतिको निरन्तर हेपाहा व्यवहारका कारण असह्य भएर सेवा स्थगित गर्नुपरेको गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो।