पर्वत/कुश्मा नगरपालिका–४ स्थित अर्मादीमा २०७५ सालमा झन्डै डेढ करोडको लगानीमा ब्रोइलर कुखुराको मासु तयार गर्नको लागि निर्माण भएको ‘वधशाला वैशाखदेखि बन्द भएको छ । उक्त बधशालाको निर्माणको लागि गण्डकी प्रदेश सरकारले त्यो बेलाका सफल कृषक लालबहादुर हरिजनसँग ५०/५० प्रतिशत लागत साझेदारी गर्ने गरी एक करोड रुपैयाँ अनुदान दियो। हरिजनले पनि थप एक करोड लगानी गर्दै दुई करोड लागतमा जिल्लामा नै पहिलो पटक आधुनिक ‘मसिन’ सहित विभिन्न स्वचालित उपकरणहरू राखेका थिए । दुई करोड भन्दा माथिको लगानी भएको उक्त वधशाला भने गएको वैशाखदेखि बन्द अवस्थामा छ।
मासु तयार पार्न र सरसफाइ गर्न ‘मसिन’ का वरपर बिछ्याइएका टायलमा अहिले ‘ब्रोइलर’ कुखुरा पालिएका छन्। खुल्ला तथा मापदण्ड पूरा नभएका वधशालामा मासु तयार पार्दा सरसफाइको समस्या हुने भएकोले उपभोक्ताको स्वास्थ्य जोखिममा हुन सक्ने भन्दै आधुनिक सुविधा सहितको वधशाला निर्माण भएको थियो।
व्यवस्थित र मापदण्ड पालना भएको भए पनि उक्त वधशालामा ‘ब्रोइलर’ को मासु तयार पार्दा खर्च धेरै आउँदा ‘डिलर’ हरू आउनै छाडेको बरु उनीहरूले खुल्ला रूपमा वधशाला चलाएको वधशालाका सञ्चालक लालबहादुर हरिजन बताउँछन्। ‘मुख्य समस्या भनेको बजारमा मनपरी तरिकाले जता पायो उतै कुखुरा काटिरहेका छन्। यो अवस्थामा कुश्माका कुखुरा गाडीबाट अर्मादी ल्याएर तयार पारेर पुनः कुश्मा पठाउँदा उनीहरूसँग प्रतिस्पर्धा गर्न सकिएन’, उनले भने, ‘यहाँको वधशाला चलाउन सक्ने स्थिति रहेन। किनभने यहाँको मेसिन अन गर्दा साथ १५ सय रुपैयाँ त बिद्युतको चार्ज उठ्छ, महिनामा ३०/३५ हजार त बिजुली लाग्छ।’
उपकरणहरू व्यस्त रहने गरी धेरै सङ्ख्यामा ‘ब्रोइलर’को ‘ड्रेसिङ’ गराउन आउनेहरू हुने हो। उपकरणहरू पूर्ण क्षमतामा चल्न पाउने हो भने उद्देश्य अनुसार काम गर्न सकिने तर थोरै सङ्ख्याका लागि मात्रै उपकणहरू चलाउनुपर्दा विद्युत् खर्च समेत नउठ्ने भएकाले नै वधशाला बन्द गरिएको कृषक हरिजनले बताए। राज्यबाट अनुदान पाएको र व्यवस्थित ठाउँमा मात्रै मासु तयार हुनुपर्ने प्रावधान ल्याएर जिल्लामा मासु तयार गर्दै आएका अन्य व्यवसायीहरूलाई पनि एकीकृत रूपमा व्यवस्थापन गर्न सक्ने हो भने वधशाला सञ्चालनमा ल्याउन सकिने उनको भनाइ छ।
कुश्मामा मासु तयार पार्दै आएका अन्य व्यवसायीहरूले भने थोरै सङ्ख्याका कुखुरा लिएर वधशालामा जानका लागि यातायातको समस्यादेखि महँगो खर्चका कारण पनि मासुको दरमा वृद्धि गर्नुपर्ने स्थिति आउने बताएका छन्। सोही वधशाला कुश्माबाट केही टाढा रहेको अर्मादीमा नभएर कुश्मा बजारमा नै भएको भएमा यातायातको असुविधा भोग्नुपर्ने स्थित नआउने उनीहरूको भनाई छ। उक्त उद्योगबाट प्रशोधन गरिएको तयारी मासु कुश्मा बजारभित्र मात्रै खपत हुने अवस्था नरहेकोले ठुला सामग्रीहरूको प्रयोग गरेर प्रशोधन गर्दा सञ्चालकलाई घाटा हुने भएकोले वधशालामा गएर मासु तयार पार्न कुनै पनि ‘डिलर’ तयार नहुने कुश्माका ‘फ्रेस हाउस’ मा ‘ब्रोइलर’ कुखुराको मासु आपूर्ति गर्दै आइरहेका व्यवसायीहरू बताउँछन्।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका पशु विकास अधिकृत पुष्पराज बास्तोलाले कुनै कारणवश वधशाला चल्न नसकेमा सम्बन्धित निकायमा खबर गर्नुपर्ने तर वधशालाभित्र ‘ब्रोइलर’ पाल्न भने नपाइने बताए। कोही व्यक्तिले सञ्चालन गर्न नसकेको भएमा अन्य कोही इच्छुकले पुनः सञ्चालनमा ल्याउन सकिने तर राज्यले अनुदान दिएर व्यवसायलाई व्यवस्थित गर्न खोजेको उद्योग बन्द रहन नहुने उनको भनाइ छ।







