८६ लाखको लागतमा बेनी–मल्लाज पदमार्ग निर्माण

कार्तिक ७ पर्वत/जिल्लाको जलजला गाउँपालिकास्थित मल्लाजबाट म्याग्दीको सदरमुकाम बेनी स्थित कालीपुल सम्म पक्की पदमार्ग निर्माण भएको छ । ठाडो भीरको उकालोमा सिढी र रेलिङ सहितको पदमार्ग बनेपछि स्थानीयबासीलाई आवत जावतमा सहज हुनुका साथै पर्यटन विकासमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।कालीपुलदेखि डिलफाँट हुँदै मल्लाजको ऐतिहासिक धार्मिक पर्यटकीय स्थल भगवती कोत मन्दिर परिसरसम्म करिब दुई किलोमिटर पदमार्ग निर्माण गरिएको हो ।
पदमार्ग निर्माण भएपछि बेनी बजारका साथै बगरफाँट वारिवेनी, जलजला गाउँपालिकाको बाँसखर्क, मल्लाज, लेकफाँट, म्याग्दीको नागीका बासिन्दालाई आवत जावतमा सहज भएको छ । पाँच वर्षअघि नै सुरु भएको पदमार्ग निर्माण विकास नेपाल बेल्जियमको आर्थिक सहयोगमा सम्पन्न भएको हो । उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर बरुवालका अनुसार विभिन्न संस्था र स्थानीयबासीको पहलमा ८६ लाख नौ हजार २५२ रुपैयाको लागतमा पदमार्ग निर्माण भएको हो । यसअघि भीरको साँघुरो बाटोमा स्थानीय तथा पर्यटक जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए ।
पदमार्ग निर्माणपछि मुस्ताङ र बेनीमा जाने–आउने पर्यटकलाई समेत मल्लाजमा भित्र्याउने लक्ष्य स्थानीय अगुवाले लिएका छन् ।