जलजलाको आर्थिक समृद्धिका लागि हम्पाल क्षेत्रको पर्यटन विकासमा लाग्छौं–अध्यक्ष मल्ल

कार्तिक ५ पर्वत/महाभारतमा कालाञ्जर पर्वतको नामले परिचित पर्वत जिल्लाको सवैभन्दा उच्च स्थानमा रहेको हम्पालको लेकलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न डिपिआर तयार गरिने भएको छ । समुद्री सतहबाट ३ हजार ३ सय मिटरको उचाईमा रहेको उच्च, फराकिलो भू–भाग, घना जंगल, जुडिबुटी र विभिन्न धार्मिक स्थल सहितको ठाउँ भएकाले यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानाकारी दिनुभयो । कालाञ्जर पर्वतको पर्यटन विकासको सम्भावना वारे अध्ययन गर्न अध्यक्ष मल्लको नेतृत्वमा एक टोलीले यसैसाता उक्त क्षेत्रको अध्ययन अवलोकन गरेर फर्केको छ । टोलीमा एनआरएनका अन्तराट्रिय उपाध्यक्ष कुल आचार्य सहित स्थानीय व्यक्तिहरुको सहभागिता थियो ।

जलजलाको आर्थिक समृद्धिसँग जोडिएको साथै मुलुकका अन्य चर्चित पर्यटकीय आकर्षणका केन्द्र जस्तै सम्भावना बोकेको पश्चिम क्षेत्रकै अनुपम ठाउँ भएकाले यसको वृहत्तर विकासका लागि गाउँपालिकाले डिपिआर तयार पार्ने योजना बनाएको अध्यक्ष मल्लले जानाकारी दिनुभयो । मल्लका अनुसार हम्पाल जङ्गलमा पाइने सयौ थरीका जडिबुटी, काठ र आकर्षक ठाउँहरु यस क्षेत्रको आर्थिक समृद्धिका सूचकहरु हुन् । १६ जिल्लाको प्रत्यक्ष अबलोकन गर्न सकिने कालाञ्जर क्षेत्रलाई विकास गर्नसके नेपालमा भित्रिने हरेकखालका पर्यटकहरुलाई घुम्ने र विभिन्न विषयका बारेमा अध्ययन गर्ने गन्तव्यको रुपमा समेत चिनाउन सकिने उहाँको दावी छ ।

जलजला र कालाञ्जर क्षेत्रको विकासका लागि गाउँपालिकाले छिट्टै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र गण्डकी प्रदेशका वन वातावरण तथा पर्यटनमन्त्री विकास लम्साललाई अवलोकन भ्रमण समेत गराउने योजना बनाएको अध्यक्ष मल्लले जानाकारी दिनुभयो । ‘राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र पर्यटन मन्त्री विकास लम्सालले पनि यो क्षेत्रको विकासमा निकै चासो देखाउनु भएको छ, तिहार लगत्तै उहाँहरुसहितको टोलीलाई भ्रमण गराई हामीले थप योजना बनाउछौं ।’– अध्यक्ष मल्लले भन्नुभयो । प्रदेश सरकार र संघीय सरकारले लगानीमैत्री वातावरण बनाएमा हम्पाल क्षेत्रको विकासका लागि एनआरएन समेत लगानी गर्न तयार भएको एनआरएनका अन्तराट्रिय उपाध्यक्ष कुल आचार्यले वताउनु भएको छ । यसैसाता त्यस क्षेत्रको भ्रमण गरेर फर्कनुभएका आचार्यले हम्पाल लेक उर्जा, पर्यटन र जडीबुटीका दृष्टिकोणले निकै महत्वपूर्ण रहेको जानाकारी दिनुभयो ।

लालीगुँरासको पहाडका नामले पनि परिचित उक्त क्षेत्रका हम्पाल डाँडा, जलजला, फलेकखर्क, सिर्पु चर्चित नामहरु हुन् । त्यहाँवाट सूर्योदय र सूर्यास्तको सहज रुपमा अबलोकन गर्न सकिन्छ । हप्पाल लेकवाट पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङ लगायतका जिल्लाको अबलोकन गर्न सकिने भएकाले दृश्यावलोकनमा रुचि राख्ने पर्यटहरुका लागि यो क्षेत्र झनैै महत्वपूर्ण मानिन्छ । नेपालमै सवैभन्दा बढि १२ थरिका लालीगँुरास पाईने हम्पालमा लोपोन्मुख बन्यजन्तु र जुडिबुटि प्रशस्त मात्रामा पाईन्छन् । गाउँपालिकाले हम्पालको लेकमा २२ रोपनी क्षेत्रफलमा ताल बनाउने योजनासमेत बनाएको छ । समुद्री सतहदेखि तीन हजार तीनसय मिटर उचाइमा रहेको सो ठाउँमा झण्डै १२ हेक्टर समथर जमीन रहेको अनुमान छ । हम्पालको लेकबाट दलदले जमीन हुँदै बगेको पानीले पूरै जमीन लचकदार भएकाले पनि यो स्थानको नाम जलजला रहन गएको स्थानीयको भनाइ छ । हम्पालमा बगेर खेर गएको पानीबाट त्यस क्षेत्रलाई आवस्यक पर्ने बिजुली निकाल्न सकिने र जिल्लाका कुश्मा नगरपालिका र मोदी गाउँपालिकालाई समेत खानेपानीको सुविधा पु¥याउन सकिने सम्भावना रहेको अध्यक्ष मल्लले जानाकारी दिनुभयो । ‘गुरुयोजनाको विस्तृत अध्ययन भइरहेको छ, गाउँपालिकाको बजेटले मात्रै त्यो सम्भव छैन प्रदेश सरकारसँगको सहकार्यमा आवस्यक पूर्वाधार तयार गर्ने योजनामा छौं ।’– मल्लले भन्नुभयो ।

जलजला गाउँपालिकाले पर्यटकीय गन्तव्यको लागि चालू आर्थिक वर्षदेखि पूर्वाधार निर्माण गर्ने योजना वनाएको छ । पहिलो चरणमा बेनीदेखि हम्पाल लेकसम्मको पर्यटकीय पदमार्गको पहिचान गरिएको छ भने पदमार्ग्भित्र पर्ने पर्यटकीय तथा धार्मिक महत्वका स्थानलाई गाउँपालिकाको मुख्य ‘सर्किट रुट’ समेट्ने गरी काम शुरु गरेको छ ।