असोज २५, पर्वत/ कुश्मा नगरपालिका २ छमर्केको घुम्ती–लाम्पाटा हुँदै दम्भाखोला जोड्ने सडक कालोपत्रे सम्झौता भएको तीन वर्षसम्म पूरा भएको छैन । २२ किलोमिटर सडकको बीचमा पर्ने २० मिटर लम्बाइको रिठेखोला पुल सम्झौता मितिअघि नै बनिसकेको छ । तर, सडक भने अझै कालोपत्रे हुन बाँकी छ ।
पोखरा–बेनी हुँदै मुक्तिनाथ जाने सडकको वैकल्पिक मार्गका रूपमा डबल लेनको हुनेगरी यो सडक कालोपत्रे गर्न २०७२ फागुनमा सम्झौता भएको थियो । घुम्तीदेखि हिमालय मावि हुँदै पाङ पुगेर उक्त सडक जलजला गाउँपालिका ८ को दम्भाखोलामा जोड्ने योजना छ । योजनाअनुसार तयार भए पोखरा–मालढुंगा–बेनी सडकको यो विकल्प हुनेछ ।
डबल लेनको बनाउने स्टिमेट सडक डिभिजन कार्यालयले गरेको छ । २२ किलोमिटर सडक १२ मिटर चौडा, कालोपत्रे, ३र३ मिटर सेडब्याक र दुईतर्फी नालीको स्टिमेट भएको सडक डिभिजनले जनाएको छ । कुश्मा २ खुर्कोटको रिठेखोलामा पक्की पुल, अन्य ससाना खोल्साहरूमा कल्भर्टसहितको योजना हो । रिठेखोला पुलबाहेक अरू काम सुरु नै भएको छैन ।
बाहुवर्षे ठेक्का स्वीकृत भएको उक्त योजना बागलुङस्थित सडक डिभिजन कार्यालयले सम्झौता गरेका निर्माण व्यवसायी काम छाडेर भागेपछि काम रोकिएको हो । कालोपत्रे सुरु भएको केही समयमै तत्कालीन ठेकेदार डीबी तामाङले काम छाडेर सम्पर्कविहीन भएपछि एक वर्षमै सडकको काम रोकिएको हो ।
व्यवसायीलाई सम्पर्कमा ल्याएर काम अघि बढाउन डिभिजन कार्यालयले चासो नदिँदा समस्या भएको स्थानीयको गुनासो छ । ‘सडक खन्दा बारी बेचेर चन्दा हालियो,’ खुर्कोटका लक्ष्मण क्षत्रीले भने, ‘अहिले भएको सडक पनि भत्काएर बिजोग छ । सडक डिभिजनकै लापरबाहीले यस्तो भएको हो ।’ स्थानीय भगवती पौडेलले सडकमा पहिरोले ठूल्ठूला ढुंगा थुप्रिएपछि पैदल हिँड्नसमेत समस्या भएको बताइन् ।
कांग्रेस केन्द्रीय सदस्य एवं तत्कालीन संविधानसभा सदस्य अर्जुन जोशीले उक्त सडकका लागि बहुवर्षे ठेक्का स्वीकृत गराएर उतिबेलै ११ करोड बजेट विनियोजन भएको बताए । ‘कुश्मा–बेनीको वैकल्पिक सडक बनाउनेगरी बजेट निकासा भएको थियो,’ उनले भने, ‘एक वर्षसम्म काम भएकै थियो । पछि हामीले फलो गर्न पाइएन । काम बीचमै रोकियो ।’
मुक्तिनाथ जाने यात्रीको सहजका लागि वैकल्पिक सडकमा हालेर फराकिलो बनाउनेगरी योजना बनाइएको उनले बताए । २२ किमि कालोपत्रे गर्न ५९ करोडको स्टिमेट भएकोमा पहिलो वर्ष ११ करोड बजेट छुट्टिएको जोशीले बताए ।
गत वर्ष सडक विभागबाट ४८ करोड बजेट यो सडकका लागि विनियोजन भएको भए पनि सरकारले प्रदेशको प्राथमिकतामा राख्दै बजेट रोकेको सरोकारवालाको आरोप छ । पुरानो ट्रयाक भत्काएपछि चल्तीको सडक दुई वर्षयता ठप्प छ । सडक कालोपत्रे हुने भएपछि स्थानीय सरोकारवालाको पहलमा दुइृ वर्षअघि रिठे खोलामा पुलको योजना सुरु भएको थियो ।
योजनाअनुसार पुल बने पनि सडक नबन्दा सरोकारवाला नै चिन्तित छन् । स्थानीय व्यवसायी राजु पौडेलले जिम्मा लिएको पुल गत असारमा सम्पन्न भएको हो । ‘असोजसम्म सक्ने सम्झौता थियो,’ उनले भने । २० मिटर लम्बाइ र ११ मिटर चौडाइको डबल लेन पुल ३ करोड ५० लाखमा बनेको हो ।
सडक नबन्दा कुश्मा १, २ र ३ वडाका बासिन्दालाई गाउँ जान हैरानी छ । सडक डिभिजन कार्यालय बागलुङका अनुसार क्षेत्रीय सडकको सूचीमा परेकाले बहुवर्षे ठेक्काभित्र परेको यो सडकलाई चालु वर्ष बजेट छैन । ‘गत वर्षदेखि त्यो सडकलाई बजेट परेकै छैन,’ डिभिजन प्रमुख थानेश्वर खत्रीले भने, ‘बजेट नभएपछि काम गराउन पनि समस्या भयो ।’ अघिल्लो आर्थिक वर्षमा केही काम भएकोमा गत जेठदेखि ठप्प भएको उनले बताए । प्रदेश सरकारको प्राथमिकतामा परेको यो लगायत अरू सडकलाई पनि बजेट नआएको डिभिजन सडक कार्यालयले जनाएको छ।
ग्रामीण क्षेत्र जोड्ने सडक अब स्थानीय तहले हेर्नेगरी सडक डिभिजन कार्यालयमा अघिल्लो वर्षदेखि बजेट आउन छाडेको डिभिजन प्रमुख खत्रीले बताए। धेरै क्षेत्रीय सडकमा स्वीकृत बजेट कटौतीमा परेपछि पर्वतसहित धौलागिरिका अन्य सडकको काम पनि अघि बढ्न नसकेको डिभिजन कार्यालयले जनाएको छ ।






