असोज २५, पर्वत/मुस्ताङ भ्रमणमा आउने आन्तरिक पर्यटकको संख्यासँगै सवारीसाधन पनि बढ्दा बेनी–जोमसोम सडकमा दैनिक घण्टौं जाम हुन थालेको छ । बेनी–जोमसोम सडक विस्तारका क्रममा छ । ठेकेदारहरूले घण्टौं आवागमन रोकेर काम गर्दा धेरै सवारीसाधन रोकिने गरेका हुन् ।
साँघुरा र पहिरोग्रस्त सडकमा क्षमताभन्दा बढी सवारीसाधन भित्रिनुका साथै सडकमा दसैंका लागि मुस्ताङबाट हिँडाएर ल्याइने खसी, भेडा र च्याङ्ग्राका बथानले आवागमनमा यात्रुलाई सास्ती भएको छ। भित्रिएका बस, जिप, मोटरसाइकल र पर्यटक गाडीको चापले सिंगल लेनको बेनी–जोमसोम सडक अस्तव्यस्त भएको छ । बेगखोला, भीरकाटे, तातोपानी, घण्टेखोला, दानाको रुप्से छहरा, अन्धगल्छी र बाँदरजुँग भीर क्षेत्रका साँघुरो सडक क्षेत्रमा लामो जाम हुने गरेको छ ।
‘एकातिर मर्मतको काम चल्दैछ, अर्कातिर सवारीसाधनको चाप भयो,’ म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भने, ‘सिंगल लेनको सडकमा यस्तो जामले दुर्घटनाको जोखिमसँगै यात्रुलाई सास्ती भयो ।’ सडक अस्तव्यस्त भएकाले निर्माणका सबै काम मंगलबारदेखि दसैंसम्म स्थगित गर्न कालीगण्डकी करिडोर बेनी–जोमसोम सडक आयोजनालाई निर्देशन दिइएको उनले बताए । सीमावती घाँसा प्रहरी चौकीको रेकर्डअनुसार आइतबार एकै दिन १८ घण्टामा मोटरसाइकलबाहेक तीन सयभन्दा बढी साना–ठूला सवारीसाधन मुस्ताङ प्रवेश गरेका छन् । चौकीका असई मीनप्रसाद तिमिल्सिनाले भने, ‘म्याग्दीपट्टि सडक विस्तारको काम भइरहेकाले त्यता रोकिएका गाडी राति १० बजे मात्र यहाँ आइपुग्छन् । सबै आउँदा आज एकै दिन चार सयभन्दा बढी पुग्न सक्छन् ।’
मुस्ताङ भित्रिने पर्यटकको चाप अधिक भएपछि मार्फा, जोमसोम, कागवेनी र मुक्तिनाथ क्षेत्रका होटलमा बास पाउन समस्या भएको छ । अक्टोबर र नोभेम्बर पर्यटकको पदयात्राको सिजन पनि हो । अन्नपूर्ण सर्किट र मुस्ताङ भ्रमणमा आउने तेस्रो मुलुकका पर्यटकलाई खाना र बासमा होटलव्यवसायीले प्राथमिकता दिन्छन् । यसले गर्दा बेनी–जोमसोम–मुक्तिनाथ सडकमा पर्ने बस्तीका होटलहरूमा आन्तरिक पर्यटकहरूका लागि बास पाउन मुस्किल भएको छ ।
‘कागवेनी र मुक्तिनाथमा होटलमा मात्र होइन धर्मशाला र बाहिर खुला चौरमा समेत सुत्ने ठाउँ पाउन मुस्किल छ, मुस्ताङबाट फर्केका हिमबहादुर भण्डारीले भने, ‘पिण्ड दिन पनि ठाउँ र ब्राह्मण पर्याप्त नहुँदा धेरै जनालाई एकै ठाउँ राखेर दिन लगाउने व्यवस्था रहेछ ।’






