पर्वत/नेपाली काँग्रेस पर्वतले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन र गठबन्धनको मर्मलाई आत्मासाथ गर्दै निर्वाचनमा सहयोग गर्ने सबै नेता तथा कार्यकर्ताहरुमा आभार व्यक्त गरेको छ । देशको अफ्ठयारो परिस्थितीमा पनि नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेको भन्दै पर्वत काँग्रेसले उच्च प्रशंसा गरेको छ ।
नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशी र सचिव गुप्तनिधी शर्माद्धारा हस्ताक्षरित विज्ञप्तीमा स्थानीय तह निर्वाचन सफलता पूर्वक सम्पन्न भएको भन्दै निर्वाचनको क्रममा भएको सहयोग, सहकार्य र उत्साहकाप्रति पार्टी आभारी रहेको जनाइएको छ । पार्टी सभापति युवराज जोशीले पर्वतका सात स्थानीय तहमध्ये पाँच स्थानीय तहको प्रमुख जित्न सफल भएको तथा गठबन्धनका बिचमा गम्भिर रुपमा छलफल गरि गठबन्धनलाई विश्वासमा लिएर निर्वाचनमा साझेदारी गर्नु आँफैमा सफलता रहेको जनाउनुभयो । जोशीले लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्न योगदान गरेका नेपाली काँग्रेसका अग्रज नेताहरुमा पनि आभार प्रकट गर्नुभएको छ । यस्तै लोकतन्त्र, आवधिक निर्वाचन तथा संविधानको रक्षार्थ योगदान गर्ने नेता तथा कार्यकर्ताहरुलाई सम्मान व्यक्त गरिएको छ । विज्ञप्तीमा विगतमा कहिँकतै कमि कमजोरी रहेका भए त्यसलाई वस्तुनिष्ठ समिक्षा र हार्दिकतापूर्वक संवाद गर्दै सहकार्यलाई निरन्तरता दिने नेपाली काँग्रेस पर्वतले प्रतिबद्धता व्यक्त गरेको छ ।
साथै निर्वाचनको अवधिभर खटिएका निजामती कर्मचारी, निर्वाचन संग सम्बन्धित निकाय, सुरक्षाकर्मी,पत्रकार, शिक्षक, विद्यार्थी, पेशागत संघसंस्थालाई पनि पार्टीले आभार व्यक्त गरेको विज्ञप्तीमा उल्लेख छ ।
नेपाली काँग्रेस पर्वतले निर्वाचन समीक्षाका लागि वडा, पालिका, र क्षेत्रका सभापतिहरुलाई बैठक राखेर सुझाव पेश गर्न जिल्ला कार्यसमितिले पत्रचार गरिसकेको छ । निर्वाचनको वस्तुगत विवरण पठाउन सम्बन्धित संगठनलाई पनि जिल्ला कार्यसमितिले अनुरोध गरेको छ । जिल्ला सभापति जोशीले पर्वतमा नेपाली काँग्रेसको संगठनलाई मजवुत बनाउने र आगामी सबै निर्वाचनमा वहुमत सहित जिताउन जिल्ला कार्यसमितिले सहकार्य र संवादलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भएको छ ।







