संघ र प्रदेशको गठबन्धनको विषयमा केन्द्रीय समितिले टुङ्गो लगाउँछ- कांग्रेस उपसभापति खड्का

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय उपसभापति एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले आगामी संघ र प्रदेशको निर्वाचनमा माओवादी लगायतका दलहरूसँग गठबन्धन रहनेकि नरहने भन्ने विषयमा केन्द्रीय समितिले टुङ्गो लगाउने वताउनु भएको छ । काँग्रेसका उपसभापति खड्काले नेपाली काँग्रेसले शनिवार कुश्मामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उक्त धारणा राखेका हुन् । उनले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कम्युनिष्टहरूलाई मिल्न नदिन गठबन्धन गर्नुपरेको दावी गरे । गठबन्धनको मर्म सबै नेता कार्यकर्ताले बुझ्नुपर्ने बताए । ‘हामी गठबन्धन गर्न चाहेर गरेका होइनौ, कम्युनिष्टहरु मिलेर चुनावमा गएभने काँग्रेसको हालत के हुन्छ’ खड्काले प्रश्न गर्दै भने–‘यो पाँच दलिय गठबन्धन कम्युनिष्टलाई मिल्न नदिनका लागि भएको हो ।’ गठबन्धन गरेकै कारण अहिले नेपाली काँग्रेस ०४९ सालपछि पहिलो पटक स्थानीय तहमा पहिलो पार्टी भएको पनि खड्काले दाबी गरे । उनले तत्कालिन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रिया खल्बल्याउने, संविधान ध्वस्त पार्ने, प्रतिगमन निम््तयाउने गतिविधि गरेका कारण पनि पाँच दलिय गठबन्धन गर्न सघाउ पुगेको जिकिर गरे । अहिलेको गठबन्धन संघ र प्रदेशको निर्वाचनमा पनि कायम रहने दाबी गर्दै नेपाली काँग्रेसका प्रभावशाली नेता खड्काले अहिले पनि शान्ति प्रक्रियाका बाँकी कार्यभार रहेको, संविधानलाई अझै मजबुत बनाउन आवश्यक रहेकोले पनि परिवर्तनकामी दलहरु एकठाउँमा हुनुपर्ने धारणा राखेका थिए । खड्काले नेपाली काँग्रेसका नेता तथा कार्यकर्तामा पछिल्लो समय अनुशासनहिन भावना बढेकोमा चिन्ता ब्यक्तगरेका थिए । उनले बिधिबिधानमा चल्न र अनुशासनमा बस्न सबैलाई आग्रह पनि गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका निबर्तमान केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पहिला भन्दा अहिले गठबन्धनकै कारण नेपाली काँग्रेसले धेरै पालिका जितेको बताए । उनले गठबन्धनको आवश्यकता र औचित्य नसकिएको भन्दै संघ र प्रदेशमा पनि गठबन्धन कायम हुनुपर्ने धारणा राखेका थिए । टिकट नपाउदासम्म दाबी गर्नु स्वभाविक भएपनि टिकट एक जनाले पाइसकेपछि पार्टीमा छौ भन्नेहरु सबैले सहयोग गर्नुपर्ने जोशीको भनाई रहेको थियो ।

नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमिति सदस्य सिता काफ्ले लामिछाने, पर्वतका निबर्तमान सभापति खिमप्रसाद भुसाल, पूर्वसभापति नवराज गुरुङ, पुर्वसांसद ऋषिकेश तिवारी, जिल्ला कार्यसमितिका उपसभापति डा.चुडामणी शर्मा, सहसचिव तिलक भुसाल, प्रदेशसभा क क्षेत्रीय सभापति राजकुमार क्षेत्री, प्रदेशसभा ख का क्षेत्रीय सचिव छविलाल तिवारी, पूर्वजिविस उपसभापति राम शर्मा पौडेल, कर्मचारी युनियन संघका निवर्तमान केन्द्रीय उपाध्यक्ष शिव शर्मा अधिकारी, जलजलाका सभापति इन्दुप्रकाश शर्मा, कुश्मा–८ का वडा अध्यक्ष सुरेन्द्र केसी, कुश्मा ७ का सभापति खेमनाथ शर्मालगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला सचिव गुप्तनिधि शर्माले गरेका थिए ।