स्थानीय तहको निर्वाचनमा विजयी भएका पूर्व कर्मचारीहरुलाई सम्मान तथा बधाई

पर्वत/पूर्व कर्मचारी सेवा परिषद पर्वतले स्थानीय तहको निर्वाचनमा विजयी भएका पूर्व कर्मचारीहरुलाई सम्मान सहित बधाई ज्ञापन गरेको छ । फलेवास नगरपालिकामा निर्वाचित मेयर गंगाधर तिवारी, कुश्मा नगरपालिका ७ को अध्यक्षमा निर्वाचित परशुराम पुरी, कुश्मा नगरपालिका ९ कटुवाचौपारीको वडाध्यक्षमा निर्वाचित राम शर्मा लामिछाने र मोदी ५ बाजुङका वडाध्यक्ष मानवहादुर अधिकारी लाई पूर्व कर्मचारी सेवा परिषदले बधाई ज्ञापन सहित सम्मान गरेको हो ।

पूर्व कर्मचारी सेवा परिषदका अध्यक्ष देबिप्रसाद विलासी लगायत पदाधिकारीहरुले जनप्रतिनिधीहरुलाई बधाई ज्ञापन गर्दै जनमुखी काम गर्न सुझाव दिनुभयो । अध्यक्ष विलासीले पूर्व कर्मचारीहरु काम र अनुभवले खारिएको हुनाले देशको लागि आवश्यक सबै खालका काम कुशलता पूर्वक सम्पन्न गर्न सक्ने बताउनुभयो । उहाँले पूर्व कर्मचारीहरुको सीप र क्षमताको भरपूर उपयोग गर्न राज्य संग आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा सम्मानित फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, पूर्व कर्मचारी सेवा परिषदका सल्लाहकार शिव शर्मा अधिकारी, कुश्मा नगरपालिका ७ को अध्यक्षमा निर्वाचित परशुराम पुरी, कुश्मा नगरपालिका ९ कटुवाचौपारीको वडाध्यक्षमा निर्वाचित राम शर्मा लामिछाने र मोदी ५ बाजुङका वडाध्यक्ष मानवहादुर अधिकारी लगायतले बोल्नुभएको थियो । पूर्व कर्मचारी सेवा परिषदका अध्यक्ष देविप्रसाद विलासीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सल्लाहकार सुन्दरप्रसाद जोशी र सञ्चालन परिषदका सदस्य चिन्तामणी गौतमले गर्नुभएको थियो ।