आर्थिक बर्ष २०७७/०७८मा कृषि ज्ञान केन्द्रको वित्तीय प्रगति झण्डै ९० प्रतिशत

पर्वत/कृषि ज्ञान केन्द्र पर्वतले आर्थिक वर्ष ७७/ ०७८ मा संचालित कार्यक्रम र वजेट सार्वाजनिक गरेको छ । पर्वत जिल्लाका सरकारी कार्यालयहरु मध्ये कृषि ज्ञान केन्द्र पर्वत आर्थिक वर्ष को अन्त्यमा वजेट कार्यक्रम र प्रगति सार्वाजनिक गर्ने पहिलो कार्यालय रहेको छ । कार्यालय ले वित्तिय प्रगति ८९ दशमलव ७ प्रतिशत गरेको छ । कार्यालयले सञ्चालन गरेका कार्यक्रम, ति कार्यक्रमको प्रभावकारिता, खर्चको विवरण सहित सार्वजनिक सुनुवाई गरेको हो । ज्ञान केन्द्रमा संघीय सरकारको ससर्त अनुदान २ करोड ५६ लाख ४५ हजार, प्रदेश सरकारको कार्यक्रम अन्तर्गत ७ करोड ५१ लाख गरि कुल ९ करोड ६१ लाख ५५ हजार रुपैयाँको बजेट स्विकृत भएको थियो । चालु तर्फ ४ करोड ८९ लाख १० हजार र पूँजीगत तर्फ २ करोड १६ लाख रुपैयाँ रहेको थियो । कार्यालय प्रमुख मनिता थापाले संघीय अनुदान तर्फको बजेट ९३ दशमलव ३१ प्रतिशत र प्रदेश तर्फको बजेट ८५ दशमलव ५१ प्रतिशत खर्च भएको जानकारी दिनुभयो । थापाले कोरोना माहामारीका बाबजुत पनि कार्यालयले सन्तोषजनक प्रगति गरेको वताउनूभयो । कार्यालयले कृषिको व्यावसायिककरण, आधुनिकिकरण, प्रविधिकरणमा जोड दिँदै विविध कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

किसानलाई मागका आधारमा अनुदान, तालिम, स्थलगत अनुगमन, पकेट, व्लक, साना सिचाई तथा व्यावसायिक फर्म स्थापना, नर्सरी स्थापना, यान्त्रिक उपकरण वितरण लगायतका कार्यक्रम चालु वर्षमा सञ्चालन गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी गराईएको छ ।
ज्ञान केन्द्रले क्षेत्रफलमा आधारित उत्पादन, कृषि उपज संकलन केन्द्र स्थापना, कलष्टरमा रैथानेबाली संरक्षण कार्यक्रम पनि सञ्चालन गरेको कार्यालय प्रमुख थापाले बताउनुभयो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि। पौडेलले उत्पादन र उपभोगको तथ्यांकगत विवरण राख्न सके प्रगतिको मापन सहज तरिकाले गर्न सकिने सुझाव दिनुभयो । उहाँले कृषि ज्ञान केन्द्रले स्थानीय तहसंग समन्वयात्मक सम्बन्ध बिस्तार गरि कार्यक्रम तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले किसानलाई प्रोत्साहन संगै आधुनिक प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम तय गर्न सुझाव दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले कृषि क्षेत्रमा रहेका विज्ञहरुको क्षमतालाई पर्वत जिल्लाले भरपुर उपयोग गरि सेवा लिनुपर्नेमा जोड दिनुभयो । समयमा नै कार्यक्रम सम्पन्न गरि वजेट र कार्यक्रम सार्वाजनिक गरेकमा ज्ञानकेन्द्रलाई धन्यवाद ज्ञापन गर्नुभयो । पत्रकार महासंघका अध्यक्ष सन्तोष थापा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष ओमप्रसाद घायल , पत्रकारहरु अगन्धर तिवारी, गणेश पौडेल, रामकृष्ण लामिछाने, सन्जय रेग्मी, रोशन तिवारी र डिलवहादुर विकले सुझाव तथा जिज्ञासा राख्नुभएको थियो ।
कार्यक्रम नेपाल पत्रकार महासंघ पर्वतको सहजीकरण र समन्वयमा सम्पन्न भएको थियो ।
कार्यक्रम पर्वत जिल्लाका ७ वटै स्थानिय तहमा संचालन भएको छ ।