कोरोना महामारी नियन्त्रणको अभियानमा जुट्न मातहतका संगठनलाई तरूण दलको निर्देशन

16

काठमाडौ/सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले कोरोना महामारी नियन्त्रणका लागि देशव्यापी सचेतना अभियान सञ्चालन गर्न मातहतका संगठनलाई निर्देशन दिएको छ।

अध्यक्ष जितजंग बस्नेतले बुधबार बिहान परिपत्र जारी गर्दै ७७ वटै जिल्ला कार्यसमितिलाई ‘मास्क प्रयोग अभियान’ चलाउन र कोरोनाविरुद्धको खोप लगाउन सबैलाई प्रोत्साहनसहित जनचेतना फैलाउन निर्देशन दिएका हुन्।

उनले खोप केन्द्रसम्म पुग्न नसकेका लक्षित वर्गलाई सहयोग गर्न, खोप केन्द्रलाई व्यवस्थित र सहज बनाउन सम्बन्धित निकायसँग सहजीकरण गर्न पनि भनेका छन्। ‘स्वास्थ्य उपचारमा रातदिन खटिने स्वास्थ्यकर्मीहरूको मनोबल उच्च बनाउनका लागि प्रोत्साहनस्वरूप थप सेवा–सुविधा प्रबन्ध गर्नका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने,’ परिपत्रमा भनिएको छ, ‘केही स्वास्थ्य संस्थामा लामो समयदेखि तोकिएको जोखिम भत्ता स्वास्थ्यकर्मीहरूले नपाएको भन्ने सुन्नमा आएकोले त्यसका लागि सम्बन्धित निकायसँग पहल गर्ने।’

अध्यक्ष बस्नेतले बाहिरी मुलुकबाट आएका व्यक्ति क्वारेन्टिनसम्म पुग्न नसकेको र नपुगेको भए प्रशासनसँग सहयोग लिएर पुग्ने वातावरण बनाउन, खाद्यान्न, तरकारी, दूध, औषधि, पानीलगायत दैनिक उपभोग्य सामान खरिद गर्दा भीडभाड हुने भएकाले सजगता अपनाउन र भौतिक दूरी कायम गर्न भनेर सचेतना फैलाउन पनि निर्देशन दिएका छन्।

अति आवश्यकबाहेक अन्य बेला घरबाट बाहिर ननिस्कन तरुण दलले आम नागरिकलाई आग्रह पनि गरेको छ।