बालकृष्ण खाँड गृहमन्त्री भएपछि देशभरका तरूणहरू उत्साहित भएको नेता गुरुङको दावी

233

सुकुटे/नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङले तरुण दलका पूर्वअध्यक्ष बालकृष्ण खाण गृहमन्त्री बनेकोमा देशभरिका तरुणहरूमा नयाँ उर्जा र उत्साह थपिएको बताएका छन् ।

नेपाल तरुण दल भक्तपुरले सिन्धुपाल्चोकको सुकुटेमा बिहीबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरेको अनौपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले केपी ओलीको तत्कालीन सरकारले तरुण दलका नेता कार्यकर्तामाथि लगाएको झुठ्ठा मुद्धाबाट उन्मुक्ति पाउनेमा आशा पलाएको बताएका हुन् । उनले साढे तीन वर्षमा ओली सरकारले तरुणहरूलाई ठूलो तनाब दिएको बताए ।

‘तरुण दलका पूर्वअध्यक्ष बालकृष्ण खाण गृह मन्त्री बन्नुभएको छ । देशभरिका युवा र तरुणमा खुसी छाएको छ’, उनले भने, ‘यो साढे तीन वर्षको समयमा ओलीको सरकार बन्दै गर्दा ७७ जिल्लामा तरुण दल भएका कारण धेरै साथीलाई झुठामुद्धा लगाएर फसाइएको छ । धेरै साथीहरू थुनामा छन् । ती युवाहरू उकासिने छन् ।’

उनले भने, ‘झुठा मुद्धा लगाउनेहरूलाई छुटाउने छौँ । युवा संघ र युथ फोर्सले सरकारविरुद्ध गयो भने तरुण दलले धावा बोल्नेछ ।’

कोषाध्यक्ष गुरुङले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकारको भ्रष्टाचार अन्त्य गर्ने विश्वास तरुणहरूले लिएको बताएका छन् । उनले आउने निर्वाचनमा कांग्रेसले जित्ने गरेर सरकारले काम गर्नुपर्ने बताएका छन् ।

‘ओली प्रधानमन्त्री हुँदै गर्दा मुलुकमा सबैभन्दा ठूलो भ्रष्टाचार, महिलामाथि बलात्कार, संविधानमाथि धावा बोलेको तथा संसदलाई पटक–पटक विघटन गरेका कारण कांग्रेसलाई विभिन्न पार्टी, नागरिक समाज, मिडियाहरूले जिम्मेवारी लिनु प¥यो भनेपछि नेतृत्व लिएका छौँ’, उनले भनेका छन् ।

‘शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभएको छ । विगतको निर्वाचनमा कांग्रेस चुनाव हारेको थियो । त्यो मतले भनेको थियो कांग्रेस ५ वर्षका लागि प्रतिपक्षमा बस्न आदेश दिएको थियो’, गुरुङले भने, ‘ओलीलाई ५ वर्षको लागि जनमत दिएको थियो । आज हाम्रो बाध्यता हो । कांग्रेस नेतृत्वमा आउनु रहर पनि थिएन । हाम्रो सभापति प्रधानमन्त्री बन्न कुनै इच्छुक पनि हुनु हुन्न थियो ।’