पर्वत/फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने घोषणा गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणका कारण मुलुक लडक डाउनमा रहेका बेला पर्वतको फलेवास नगरपालिकाले बाँझो जमिनमा खेती गरे अनुदान दिने निणर्य गरेको हो । उत्पादन बढाउन र खाद्य संकट नहोस् भनेर किसानलाई अनुदान घोषणा गरिएको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो ।
नगरको कार्यपालिको सोमवार बसेको बैठकबाट कोरोना भाइरस संक्रमण थप फैलिन सक्ने र खाद्य संकट समेत निम्तिन सक्ने भन्दै बाँझो जमिनमा खेती गर्न प्रोत्साहन गर्ने नीति अघि सारिएको नगरप्रमुख शर्माले बताउनुभयो ।
नगरपालिकाले दुई वषर्भन्दा बढी समय बाँझो रहेको जमिनमा खाद्यान्न जस्तै मकै, कोदो र धान खेती गर्ने किसानलाई अनुदान दिने निणर्य गरेको नगरप्रमुख शर्माले जानकारी दिनुभयो । ‘हामी आत्मनिर्भर हुनेतर्फ योजना बनाउन जरुरी छ,’ उहाँले भन्नुभयो, ‘यस्तै अवस्था आउने हो भने विदेशबाट खाद्यान्न आयात हुन समस्या आउन सक्छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले हामीले आफ्नै उत्पादनमा जोड दिनुपर्छ ।
नगरपालिकाले बाँझो जमिनमा खेती गरे वडा कार्यालयवाट प्राप्त तथ्याङकको आधारमा अनुगमन गरि बास्तविक देखिएमा मल, बीउ व्यवस्थापनको लागि प्रतिरोपनी रु. २ हजार रुपैयाँ दिने छ । साथै नगरपालिकाले खेती गरिने स्थान वरिपरी अनुत्पादक रुख कटानीछटानीको व्यवस्था गर्नुपर्ने भनेको छ ।
बाँझो जमिनमा खेती गर्न इच्छुक व्यक्तिले नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, सम्बन्धित टोलको सिफारिस, जग्गा धनी प्रमाणपत्र र लिज वा भाडामा भए सम्झौता पत्र र लिनेदिनेको नागरिकताको प्रमाणपत्र सहित १५ दिनभित्रमा वडा कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरेको फलेवास नगरपालिकाका प्रमुख प्रशासकिय अकिृत मुक्तिराम रिजालले जानकारी दिनुभएको छ ।






