प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताकाप्रति विचलित नभइ कलम चलाउन काँग्रेस सभापति देउवाको आग्रह

पर्वत/पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका प्रति बिचलित नहुन र निर्धक्क भएर लेख्न देशभरका पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियनको २९ औं स्थापना दिवसका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले संचारमाध्यमले औंल्याएका गल्ती सच्याउंदै अघि बढ्न प्रधानमन्त्रीलाई समेत आग्रह गर्नुभएको छ । ‘स्वास्थ सामग्री खरिद गर्दा गम्भीर भ्रष्टाचार भएको विवरण हाम्रा संचार माध्यमहरुमा आए । तपाईंहरुले निडरता पूर्वक लेख्नु भयो’ देउवाले भने, ‘प्रधानमन्त्रीले धन्यवाद दिएर दोषीलाई कार्वाही गर्नुपर्नेमा उल्टै संचार माध्यम र सामाजिक संजालले अस्थिरता फैलाएको आरोप लगाउनुभयो । म उहाँलाई प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति नराख्न फेरि पनि आग्रह गर्दछु । संचार माध्यमले औंल्याएका गल्ती सच्याउंदै अघि बढ्न प्रधानमन्त्रीले जरुरी छ ।’

लक डाउन भएको दुई महिना पूरा हुँदाको अबस्थमा पनि सरकारले पर्याप्त तयारी गर्न नसकेको देउवाले आक्रोश व्यक्त गर्नुभयो । ‘प¥याप्त परिक्षण छैन । क्वारेन्टाइन कि गाई गोठ ? शोध्नुपर्ने स्थिति छ । पर्याप्त स्वास्थ सामग्री छैन । अत्यावश्यक राहतको उचित ब्यवस्थापन छैन । बिदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार गर्ने कुनै योजना छैन । यस्तो स्थितिमा मिडियाले अझै खरो ढंगले आवाज उठाउन जरुरी छ’ उहाँले भन्नुभयो । ‘लक डाउनले समाजका सबै गतिविधि बन्द भएका बेला अनियमितता, बेथिति, भ्रष्टाचार र अलोकतान्त्रिक व्यवहार क्रमशः थप बढ्दै जान सक्ने खतरा देखिएका छन् । यस्तो बेला मिडियाले खबरदारीको भुमिका अझै बढाउन जरुरी छ । म निडर भएर आफ्नो कलम चलाउन तपाईंहरुलाई आग्रह गर्दछु । मेरो सदैव साथ तपाईंहरुलाई रहनेछ ।’

पत्रकारका लागि सुरक्षा सामग्री ब्यवस्था गरेर निःशुल्क परिक्षण गर्दै पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न देउवाले सरकार समक्ष माग गर्नुभएको छ । त्यसैगरी कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष वद्री सिग्देलले पत्रकार र मिडिया हाउसलाई राहत योजना ल्याउन सरकारसँग माग गर्नुभएको छ ।