पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले पर्वतमा अपराधीकरणको संस्थागत संरक्षण भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । अध्यक्ष मल्लले मंगलबार एक प्रेस विज्ञप्ती प्रकाशन गर्दै संविधानप्रदत्त अधिकारमाथि धावा बोल्दै व्यक्तिको व्यवसायिक स्वतन्त्रतामाथि हस्तक्षेप र अनर्गल टिका टिप्पणी गर्ने र उश्रृङ्खल प्रवृत्तिका तिनै व्यक्तिलाई कार्यकर्ताको सज्ञा दिएर स्याबासी र पृष्ठपोषण गर्ने देशको जिम्मेवार राजनीतिक दलप्रति समेत गुनासो गर्नुभएको छ ।
मल्लद्वारा जारी विज्ञप्तीमा कुनै पार्टीको नाम उल्लेख नगरेपनि उहाँको भनाई नेकपा र उसका कार्यकर्ताप्रति लक्षित देखिन्छ । अध्यक्ष मल्लले विगतमा आफ्नो गाडीमा बम राखिएको बिषय र डोजरमा आगजनी गरिएको विषयलाई समेत संस्थागत अपराध र दलीय संरक्षणको आडमा भएको आशंक गर्नुभएको छ । ‘जनप्रतिनिधिहरुमाथि अनावस्यक टिप्पणी गर्ने, व्यवसायीमाथि बार्गेनिङ गर्ने, सामाजिक सञ्जालमा बिष बमन गर्ने, डोजरमाथि आगजनी गर्ने र गाडीमा बम राख्ने जस्ता आपराधिक कर्महरुमा जो जहाँ संलग्न छन् । ती व्यक्तिहरुलाई अनुसन्धान गरि छिट्टै कानूनी दायरामा ल्याउन म सम्बन्धीत निकायमा जोडदार माग गर्दछु ।’–विज्ञप्तीमा भनिएको छ ।
ढुङ्गा, गिट्टी र बालुवाको विषय जलजला गाउँपालिकामा धेरैले उठाउने र टिप्पणी गर्ने बिषय भएको वताउँदै अध्यक्ष मल्लले ढुङ्गा, गिटी बालुवा गाउँपालिकाको आन्तरिक आयश्रोतको बलियो माध्यम भएकोले त्यो प्रक्रियागत रुपमै ठेक्का छनोट भई उत्खनन् र विक्री वितरण हुँदै आएको दावी गर्नुभएको छ । त्यो व्यवसायलाई अनुगमन गर्ने र नियमन गर्ने अलग्यै निकाय भएको दावी गर्दै मल्लले यथार्थ कुरा नबुझिकन ‘नदी दोहन’ भन्ने र व्यवसायीलाई अपराधीजस्तो ठानेर सामाजिक सञ्जालमा टिका टिप्पणी गर्ने प्रवृति अवाञ्छीत र खेद जनक भएको समेत उहाँको भनाई छ ।
अध्यक्ष मल्लले गाउँपालिकाभित्रबाट सम्पादन भएका सेवा प्रवाह र पारदर्शिताको विषयमा जान्ने बुझ्ने अधिकार हरेक नागरिकलाई भएको उल्लेख गर्दै विधि र पद्दतिकोअधिनमा रहेर हिसावकिताव खोज्ने, सुझाव दिने र खबरदारी गर्न पनि सरोकारवाला सबै नागरिकमा अपिल गर्नुभएको छ । साथै विज्ञप्तीको पूर्ण पाठ यस्तो छ – २०७४ साल बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनबाट जनप्रतिधिका रुपमा निर्वाचित भएर आएदेखि समग्र जलजलाको विकास र समृद्धिका लागि मैले गरेको योगदान यहाँहरुका बीचमा घामझैं छर्लङ्ग छ । स्थानीयस्तरमा भएको श्रोतसाधनलाई अधिकतम उपयोग गरि गाउँपालिकाको आर्थिक श्रोत वृद्धि गर्ने र करको अधिकतम् भार घटाएर जनताहरुलाई राहात दिने विषयमा गाउँपालिकाको तर्फबाट म सदा प्रयत्नशील नै छु । तर विगत केही समयदेखि नियोजित रुपमा एउटा समूह सामाजिक सञ्जालमा मेरो विरुद्धमा अनर्गल टिका टिप्पणी गर्दै मेरो चरित्रहत्या गर्न उद्दत रहँदै आएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । संविधानप्रदत्त अधिकारमाथि धावा बोल्दै व्यक्तिको व्यवसायिक स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने र आग्रहपूर्ण ढंगले टिका टिप्पणी गर्ने मानसिकताले समाजको प्रगति सम्भव छैन । गाउँपालिकाबाट भएका रचनात्मक कामहरुको वेवास्ता गर्दै सँधै नकरात्मक प्रचारबाजीमा रमाउने केही उश्रृङ्खल प्रवृत्तिका व्यक्तिहरु र तिनै व्यक्तिलाई कार्यकर्ताको सज्ञा दिएर गलत प्रवृत्तिको स्याबासी र पृष्ठपोषण गर्दै विज्ञप्तीबाजी गर्ने देशको जिम्मेवार राजनीतिक दलप्रति पनि मलाई गहिरो आशंक पैदा भएको छ ।
ढुङ्गा, गिट्टी र बालुवाको विषय जलजला गाउँपालिकामा धेरैले उठाउने र टिप्पणी गर्ने बिषय भएको छ । ढुङ्गा, गिटी बालुवालाई आन्तरिक आयश्रोतको माध्यम बनाएर हरेकबर्ष गाउँपालिकाबाट ठेक्का लगाइन्छ र प्रक्रियागतरुपमा ठेक्का छनौट भई नदीजन्य पदार्थको संकलन र विक्री वितरण हुँदै आएको कुरा सबैलाई जानकारी नै छ । गाउँपालिकाको आम्दानीको प्रमुख श्रोत समेत भएको यो व्यवसायलाई अनुगमन गर्ने र नियमन गर्ने अलग्यै निकाय पनि छ । तर यथार्थ कुरा नबुझिकन ‘नदी दोहन’ भन्ने र व्यवसायीलाई अपराधीजस्तो ठानेर सामाजिक सञ्जालमा टिका टिप्पणी गर्ने प्रवृति अवाञ्छीत र खेद जनक छ । मापदण्ड अनुसार काम भए/नभएको हेर्ने निकाय स्वयं जिल्ला समन्वय समिति छ । यदि साँच्चीकै नदीजन्य पदार्थको विक्रीवितरण सामाजिक अपराधनै होभने कानून बनाएर यसलाई प्रतिवन्ध लगाउन म संघ र प्रदेश सरकारलाई दावाका साथ भन्न चाहन्छु । हैनभने स्थानीयतहले प्रक्रिया पु¥याएर लगाएको ठेक्कामाथि धावा बोल्ने र अनर्गल टिप्पणी गर्ने विषय निराधार र अक्षम्य छ । अर्कोकुरा गाउँपालिकाभित्रबाट सम्पादन भएका सेवा प्रवाह र पारदर्शिताको विषयमा जान्ने बुझ्ने अधिकार हरेक नागरिकलाई छ तर हिसावकिताव खोज्ने, सुझाव दिने र खबरदारी गर्ने पनि निश्चित विधि र पद्धति छ । त्यो विधि र पद्दतिभित्र आएर यथार्थ खोज्न म सबै पालिकाबासीमा अनुरोध गर्दछु । नत्र राजनीतिक आग्रहप्रर्वाग्रह राखेर विगतदेखिनै हरेक जनप्रतिनिधिहरुमाथि अनावस्यक टिप्पणी गर्ने, व्यवसायीमाथि बार्गेनिङ गर्ने, सामाजिक सञ्जालमा बिष बमन गर्ने, डोजरमाथि आगजनी गर्ने र गाडीमा बम राख्ने जस्ता आपराधिक कर्महरुमा जो जहाँ संलग्न छन् । ती व्यक्तिहरुलाई अनुसन्धान गरि छिट्टै कानूनी दायरामा ल्याउन म सम्बन्धीत निकायमा जोडदार माग गर्दछु ।







