पर्बत/लोकतन्त्रको वास्तविक परिभाषा भनेकै ‘जनताले, जनतालाई, जनताद्धारा गरिने शासन हो । तर चुनाब जितेपछि धेरै जनप्रतिनिधिले जनतामा गरेका पूर्व बाचाहरू बिर्सेर आफ्नो दुनो सोझ्याउन लागेको पाईन्छ तर जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) आफू जनप्रतिनिधि भएपछि निरन्तर गाउँपालिकाको विकास र गाउँपालिकाबासीको समृद्धिका लागि खटिनु भएको छ । उहाँ अहिले जनताको सुख दुःखको सच्चा सहयात्री बन्नुभएको छ ।
पछिल्लो चरणमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण न्यूनिकरणका लागि पनि अध्यक्ष मल्लले देखाउनुभएको सक्रियता र तत्परताले पनि मल्लको जनताप्रतिको प्रेम र पदीय जिम्मेवारीप्रतिको निष्ठालाई थप उजागर गरेको छ । अध्यक्ष मल्लले गाउँपालिका मार्फत विहिवार ३० लाखको आपतकालीन कोष खडा गर्नुभएको छभने । उक्त कोषमा आफूले व्यक्तिगत रुपमा दुईलाख नगद सहयोग गर्नुभएको छ । विहीवार सम्पन्न कार्यपालिकाको वैठकले गाउँपालिकाभित्र मजदुरी गरेर जिविकोपार्जन गरि बस्ने श्रमिकहरुलाई राहत समेत दिने निर्णय गरेको छ । गाउँपालिकाले पहिलो चरणमा १२ लाख बराबरको राहत बाँड्ने गरि मापदण्ड तयार गरेको अध्यक्ष मल्लले जानकारी दिनुभयो । ‘आजको वैठकले गाउँपालिका स्थित मोहनचोकमा २० वटा बेडको क्वारेन्टाइन स्थापना गर्ने र कुश्मामा स्थापना भएको आईसोलेशन वार्डका लागि ७ लाख रूपैयाँ सहयोग गर्ने निर्णय समेत गरेका छौं ।’- अध्यक्ष मल्लले भन्नुभयो ।
अध्यक्ष मल्लले आफूले सहयोग गरेको व्यक्तिगत दुईलाख रकम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मालाई हस्तान्तरण गर्नु भएको थियो । अध्यक्ष मल्लले यसअघि पनि कुश्माको अर्मादीदेखि बगरफाँटसम्म कोरोना विरूद्धको औषधि (क्लोरिन) छर्किनको लागि व्यक्तिगत रुपमै ३० हजार रूपैयाँ खर्च गर्नुभएको थियो । गाउँकार्यपालिकाले बिपद कोषमा राहत सामाग्री साथै नगद सहयोग गर्नका लागि सबै दाताहरूलाई आव्हान समेत गरेको छ । सहयोगीहरुले गाउँपालिकामा सम्पर्क गर्न सक्ने बताउँदै पालिकाभित्र एकद्धार प्रणालीवाट राहत वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।






