गौमहोत्सव र गौशालाको पूर्वाधार विकासका लागि जलजला गाउँपालिकाबाट मात्रै ७० लाख बढिको आर्थिक सहयोग

पर्वत/उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी नदी किनारमा संचालित गौमहोत्सव र गौशालाको पूर्वाधार विकासका लागि जलजला गाउँपालिकाबाट मात्रै ७० लाख आर्थिक सहयोग भएको छ । मंसीर १९ गतेदेखि शुरु भएको गौमहोत्सवमा जलजला गाउँपालिकाको तर्फबाट ४० लाख, वडा नं ७ बाट छलाख, ८ बाट पाँचलाख र वडा नं ४ बाट पाँचलाख गरि ५६ लाख सहयोग भएको छभने जलजला–७ धाईरिङमा गौशाला स्थापना भएदेखिनै अन्य विभिन्न शीर्षकमा यसअघि १६ लाख भन्दा बढि सहयोग भएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानाकारी दिनुभयो । महायज्ञको सफलताको राष्ट्रियस्तरमा ख्यातीप्राप्त व्यक्तिहरुलाई यज्ञस्थलमा ल्याउनेदेखि यज्ञको व्यवस्थापन तथा संयोजनमा समेत आफू र आफ्नो गाउँपालिकाबाट आवस्यक सहयोग पु¥याउँदै आएको अध्यक्ष मल्लको दावी छ । ‘गौमहोत्सव जलजलाको समग्र पहिचान र प्रगतिसँग जोडिएकोले गौ महोत्सव र गौशालाको भौतिक पूर्वाधार विकासमा मन फुकाएर सहयोग गरेका हौं ।’–अध्यक्ष मल्लले भन्नुभयो । अध्यक्ष मल्लले महोत्सवको सफल पार्न अहोरात्र लागीपर्ने सबै वडाअध्यक्ष सहितका जनप्रतिनिधि लगायत सबैलाई गाउँपालिकाको तर्फबाट आभार प्रकट समेत गर्नुभएको छ ।

गौमहोत्सवमा दिनप्रतिदिन श्रद्धालु भक्तजनहरुको सहभागिता समेत बढ्दै गएको छ । वैदिक गाईको संरक्षण गर्ने र प्रसिद्ध कालाञ्जर क्षेत्रलाई विश्वमा पहिचान गराउने उद्देश्यले मंसीर १९ गतेदेखि पवित्र कालीगण्डकीको तटमा संचालन भएको धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सवमा धेरै दाताहरुले श्रद्धापूर्वक दान गरेको आयोजक समितिले जानकारी दिएको छ । महोत्सवमा विहिवारसम्म तीनकरोडभन्दा बढि सहयोग संकलन भएको वताइएको छ । महोत्सवको सातौं दिनको सभामा विहिवार नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य अर्जुनप्रसाद जोशी, एनआरएनका पूर्व उपाध्यक्ष कुल आचार्य र जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्ण र स्वामी कमलनयनाचार्य लगायतले सम्बोधन गर्नुभएको थियो । गण्डकी गोपाल गौशालाको सुदृढिकरण र गाई संरक्षण संगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचार प्रसारको लागि कालञ्जर पर्वतको फेदी र कालिगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा गौमहोत्सव एव् महायज्ञ गर्न लागिएको मुल आयोजक समितिका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो ।
महायज्ञ एवम् महोत्सवबाट संकलन हुने रकमबाट गौशालाको थप पूर्वाधार निर्माण र स्थानीय जातका गाईको बंश संरक्षण गरिनेछ । धार्मिक र प्रर्याबरणीय रुपमा समेत गाईको महत्व ठुलो रहेकाले पहिलो पटक गाईको महत्वबारे जानकारी गराउन र संरक्षणको लागि पहल गर्ने उद्देश्यले गौमहोत्सवको रुपमा महायज्ञ सञ्चालन गर्नुपरेको अध्यक्ष आचार्यले बताउनुभयो ।

स्वामी कमलनयनाचार्यको संकल्प र स्थानीयको सक्रियतामा वि।स २०७२ मा धाइरीङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले यस गौशालामा ३५ वटा गाई रहेका छन् । गौशालाको क्षमता विस्तार गरि लोप हुँदै गएका गाईको संरक्षणको लागि अन्य गाईहरु थप गर्दै लैजाने योजना रहेको आयोजक समितिका महासचिब जगन्नाथ आचार्यले जानकारी दिनुभयो । महायज्ञ एवम् गौमहोत्सवबाट बचत हुने रकमलाई पूर्वाधार विकाससंगै गौशालाको दिर्घकालिन व्यवस्थापनको लागि अक्षयकोष समेत स्थापना गर्ने उद्देश्य राखिएको उहाँले बताउनुभयो ।
हिन्दू धर्मालम्बीले गाईलाई साक्षात देवीका रूपमा पुज्छन् । स्थानीय जातका गाईको मुत्र, दूध, घ्यू, गोबरदेखि सबै पवित्र र औषधिजन्य गुण हुन्छन्। आजकल गाई हराउँदै गएका छन् । गौ महोत्सवको आज समापन गरिँदै छ ।