फलेबास मेलालाई सम्बोधन गर्दै काँग्रेस नेता जोशीले भन्नुभयो– ‘पर्वतको विकासकालागि मेरो सक्रियता र निरन्तरता जारी छ ।’

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पर्वतको फलेवास धेरै संभावना बोकेको क्षेत्र भएरपनि विकासका दृष्ट्रिकोणले निकै पछाडि परेको उल्लेख गर्दै यसको विकासमा आफू फलेवासी जनतासँग निरन्तर हातेमालो गर्न चाहेको वताउनु भएको छ । यूनाईटेड स्पोर्टस क्लव देविस्थानले आयोजना गरेको बृहत फलेवास व्यापारिक कृषि, खेलकुद तथा साँस्कृतिक मेला २०७६ लाई छठौं दिनमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै केन्द्रीय सदस्य जोशीले उक्त कुरा वताउनु भएको हो । काँग्रेस नेता जोशीले आफू १६ बर्ष जनप्रतिनिधि हुँदा बजेटका सीमा र बाध्यताका बावजुतपनि क्षेत्र नं २ को विकास निर्माणमा पनि आफ्नो सहभागिता रहेको दावी गर्दै २०७४ को निर्वाचनमा आफू सिंगो पर्वतबाट चुनाव लडेको तर निर्वाचनको परिणामले आफूलाई अनुमोदन नगरेको वताउनु भयो । ‘म सिंगो पर्वतको जनप्रतिनिधिका रुपमा काम गर्ने रहर थियो, तपाईंहरुले माया गर्दागर्दै म पनि चुनाब हारँ, तर पनि पर्वतको समग्र विकासका लागि मेरो सक्रियता आजपनि उत्तिकै निरन्तर छ ।’– नेता जोशीले भन्नुभयो ।

पर्वतमा लामो समय जनप्रतिनिधि भएका काम गरेका नेता जोशीले फलेवासको दीर्घकालिन विकास र समृद्धिका लागि फलेबासीसँग हातेमालो गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ । काँग्रेस नेता जोशीले आफू पहलोपटक जनप्रतिनिधि हुँदा जिल्लाका धेरैजसो गाउँमा पैदल हिँड्ने मान्छेहरु गाडीमा हिँड्ने भएको, डोकोमा पानी बोकेर खाने जनताहरुलाई घरघरमै स्वस्थ पानी पु¥याएको, टुकी बाल्ने गाउँघरमा बिजुली पु¥याएको, सिंचाई नहुने बञ्जर भूमिमा व्यवसायिक तरकारी र फलफूल खेती लगाएको र मानव विकास सुचाङ्कमा पर्वत ११ औं जिल्लामा पर्न सफल भएपनि पछिल्लो चुनावमा ‘अर्जुन जोशीले केही गरेन’ भन्ने भ्रम फिँजाएर नेकपाका उमेद्वारहरुले चुनाब जितेको दावी गर्नुभएको थियो । उहाँले आफूले विगतमा गरेको काम र अहिलेका जनप्रतिनिधिहरुले गरेको कामको मूल्याङ्कन र समीक्षा गर्न पर्वतबासी जनतालाई आग्रह समेत गर्नुभएको छ ।

वर्तमान सरकारप्रति कटाक्ष गदै नेता जोशीले सरकार नागरिकप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाउनु भयो । वर्तमान सरकार नागरिक अधिकारलाई कुण्ठित गर्ने र दुईतिहाईको दम्भमा सर्वसत्ताबाद लाद्ने दिशातर्फ उन्मुख भएको वताउँदै सरकारका कारण देशको शान्ति सुरक्षा, विग्रँदै गएको, भ्रष्टाचार बढेको, जनताहरु महँगी र करको चपेटामा परेको वताउनु भएको थियो । नेता जोशीले यस्ता मेला महोत्सवबाट धर्म, संस्कृति र परम्पराको संरक्षण हुनुका साथै सामाजिक एकता र सद्भाव बढ्ने वताउँदै फलेबासमा जिल्लास्तरीय मेलाको आयोजना गरेकोमा क्लवको प्रंशसा गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले क्लवले नगरमै ऐतिहाँसिक काम गरेको भन्दै युवाहरुले गर्ने हरेक कार्यलाई नेपाली काँग्रेसले जहिले पनि प्राथमिकतामा राखेको बताउनु भयो । मेला महोत्सवहरुले औद्योगिक विकासमा टेवा पु¥याउने बताउँदै नेता तिवारीले युवाहरुले गर्ने सामजिक कार्यका निम्ति आफु सधै सक्रिय रहेको बताउनु भयो । फलेवास नगरपालिका मेयरका प्रत्यासी समेत रहेका तिवारीले फलेवास नगरपालिकाले जनताको भावना अनुसार काम गर्न नसकेको जिकिर गर्नुभयो । उहाँले नगरमा धुलो उडाउँदैमा विकास भएको नसोच्न नागरिककलाई अपिल गर्नुभयो । फलेवास नगरपालिका कृषि, पर्यटनको प्रचुर सम्भावना रहेको र अब कलकारखाना स्थापित गरि समृद्ध नगर बनाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य शिव सुवेदीले मेला सफलताको शुभकामना दिनुभयो । कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका संयोजक शिव शर्मा अधिकारी, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी एवम् फलेवास नगरपालिका १ पाङराङका वडा अध्यक्ष जितवहादुर सुनार शेरवहादुर सुनार, नेपाली काँग्रेसका जिल्ला सदस्य डाक्टर चुडामणि शर्मा, देविप्रसाद विलासी, पशुराम पुरी, फलेवास नगरपालिका प्रवक्ता टिकाराम गौडेल,नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, नेपाल पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष एवं रेडियो शालिग्राम पर्वतका स्टेशन म्यानेजर ओमप्रसाद घायल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमा वडा स्तरिय खुल्ला भलिवल प्रतियोगिता, रत्यौली प्रतियोगिता र भजन प्रतियोगिता समेत आयोजना गरिएको थियो । कार्यक्रममा राष्ट्रियस्तरका कलाकार बद्री पंगेनी, कृष्ण अखेली र सरस्वती लामिछाने लगायतले आफ्नो प्रस्तुती राख्नुभएको थियो ।