हिन्दू धर्मलाई होलीवाईनको शिकार बनाइयो -काँग्रेस सभापति देउवा

पर्वत/पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हिन्दु धर्म र सस्कृति संकटमा परेको बताउनुभएको छ । आइतवार पर्वतको जलजलामा आयोजित धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस सभापति देउवाले हिन्दु धर्म,संस्कार,सस्कृति र परम्परा जोगाउनलाई सवैजना सबैजना ईमान्दार भएर लाग्न आग्रह गर्नुभयो ।

गण्डकी गोपाल गौशालाले आयोजना गरेको विराट ज्ञानमहायज्ञ तथा गौमहोत्सवको चौथो दिन महोत्सवमा सहभागी हुन आउनुभएका सभापति देउवाले धर्मको रक्षा र वैदिक गाईको संरक्षणका लागि सञ्चालन गरेको गौमहोत्सवले देशभरका हिन्दुहरुमा नयाँ आशा जगाएको बताउनुभयो । अत्यन्तै छोटो समय बोल्नुभएका सभापति देउवाले गौशालामा भौतिक पूर्वाधार निर्माण गर्न र कालाञ्जर क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न आफूले सरकारसँग माग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । काँग्रेस सभापति देउवाले धर्म र काँग्रेसका बीचमा अन्योन्याश्रीत अन्तरसम्बन्ध रहेको दाबी गर्दै वर्तमान नेकपा सरकारले होलीवाईनसँग धर्मको सम्झौता गरेको आरोप लगाउनु भएको थियो ।

यसै गरी नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम सविधानसभाका सदस्य अर्जुनप्रसाद जोसीले जलजला,कालाञ्जर र गौशालाको विकासका लागि आयोजना गरिएको महोत्सवले हिन्दु धर्मालम्बीहरुलाई एक ठाउँमा ल्याएको बताउनुभयो । उहाँले हिन्दु धर्मको रक्षा र संरक्षणका लागि एकताबद्ध भएर जुट्न आग्रह समेत गर्नुभयो । उहाँले जलजला क्षेत्र धार्मिक पर्यटनको केन्द्र बनाउन सकिने भएकाले गाउँपालिकाले ठोस योजना बनाउनुपर्ने बताउनुभयो । सोही कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले गौमहोत्सवले गाईको संरक्षणसँगै धर्म र संस्कृतिको संरक्षणकालागि पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जलजला क्षेत्रको विकासका लागि गुरुयोजना बनाउन लागिएको बताउनुभयो । नेपाली काँग्रेसका युवा नेता समेत रहेका मल्लले गाई हिन्दुहरुको आमा समान रहेको उल्लेख गर्दै जन्मदेखि मृत्युसम्म गाईको अपरिहार्य आवस्यकता रहेकोले गौमहोत्सवबाट वैदिक गाईको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष मल्लले गण्डकी गोपाल गौशालाको भौतिक पूर्वाधार निर्माण गरी धार्मिक पर्यटनको केन्द्र बनाउनका लागि गाउँपालिकाको तर्फबाट चालिख लाख रुपैयाँ बराबरको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुृभयो ।

महोत्सव मुल आयोजक समितिका अध्यक्ष राजुप्रसाद आचार्य लगायत समितिका पदाधिकारीहरुले सभापति देउवालाई स्वागत गरेका थिए । सभापति देउवालाई बाजागाजा,भजनकृतन सहित महोत्सव स्थलमा भव्य स्वागत गरिएको थियो । महोत्सवमा आईतवारसम्म झण्डै डेढकरोड रूपैयाँ बराबरको सहयोग संकलन भएको मूल आयोजक समितिका संयोजक राजु आचार्यले जानकारी दिनुभयो ।