पर्वत / महाशिला गाउँपालिका आर्थिक वर्ष २०८१/८२ को अन्तिम लेखापरीक्षणमा लगती बेरुजु शून्य कायम गर्न सफल भएपछि महालेखापरीक्षकको कार्यालयबाट सम्मानित भएको छ।
महालेखापरीक्षकको कार्यालयले आयोजना गरेको कार्यक्रममा महालेखापरीक्षक तोयम रायाको हातबाट गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद भुसालले गाउँपालिकाको तर्फबाट प्रशंसा–पत्र ग्रहण गर्नुभएको हो।
आर्थिक कारोबारलाई कानुनसम्मत, पारदर्शी र उत्तरदायी ढङ्गले सञ्चालन गर्दै लगती बेरुजु शून्य कायम गर्न सफल भएको भन्दै महाशिला गाउँपालिकालाई प्रशंसा–पत्र प्रदान गरिएको हो। स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्नु चुनौतीपूर्ण मानिने अवस्थामा महाशिलाले हासिल गरेको यो उपलब्धिलाई सकारात्मक रूपमा हेरिएको छ।
प्रशंसा–पत्र ग्रहणपछि अध्यक्ष भुसालले यो सफलता कुनै एक व्यक्ति वा सीमित समूहको नभई गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीको सामूहिक मेहनत, इमानदारिता तथा जिम्मेवारीबोधको प्रतिफल भएको बताउनुभयो।
उहाँले गाउँपालिकामा सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गरिएकै कारण यस्तो उपलब्धि हासिल गर्न सम्भव भएको उल्लेख गर्दै यस अभियानमा सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृतसहित सबै कर्मचारीप्रति धन्यवाद व्यक्त गर्नुभयो।
अध्यक्ष भुसालले आगामी दिनमा पनि वित्तीय अनुशासन, पारदर्शिता र सुशासनलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्दै गुणस्तरीय सेवा प्रवाह र विकास निर्माणलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।






