आज असार १५: पानी नपर्नाले पर्वतमा आजसम्म २१ प्रतिशत मात्र रोपाईं

पर्वत/पर्याप्त मात्रामा वर्षा भएको भए धमाधम रोपाइ भइरहेको हुने मध्य असारसम्म पर्वतमा भने २१ प्रतिशत रोपाइँ मात्रै पूरा भएको छ । नेपालमा ढिला गरी मौसम भित्रिँदा तथा भित्रिएको मौसम पनि छिटो गतिमा देशभर नफैलिँदा रोपाइँ गर्ने बेलामा पनि वर्षा हुन सकिरहेको छैन । स्थानीय बायुको प्रभावले केही दिनको अन्तरमा सामान्य वर्षा भए पनि उक्त वर्षाले खेतका कान्लामा रहेका पानीका मूलहरू फुटाउन सकेको छैन ।

खेतमा लगाइएको मकै नपाकेको भए पनि यो बेलामा बाँझा छोडिएका, खोला आसपास तथा जिल्लाका उच्च भेगमा भने रोपाई हुनुपर्ने थियो । खोल्सा वा खोलाको पानी लाग्ने खेत, सिचाइको नियमित सुविधा भएका क्षेत्रहरूमा केही रोपाइ भएको भए पनि सबै ठाउँमा रोपाइ हुन सकिरहेको छैन ।

कृषि विकास कार्यालय पर्वतकी बाली संरक्षण अधिकृत सोबिता सुवेदीका अनुसार यो वर्ष जिल्लाको कुल ७ हजार १ सय ६० हेक्टर क्षेत्रफलमा बर्खे धान रोपाइँ हुने अनुमान गरिएकोमा यसको २१ प्रतिशत अर्थात् १ हजार ५ सय ३ हेक्टर क्षेत्रफलमा रोपाइ भएको छ ।

मध्य असारसम्म जिल्लाको कुश्मा नगरपालिका–११, फलेवास नगरपालिका–७ र ८, पैयुँ गाउँपालिका–४ र ६, मोदी गाउँपालिका–६ र ८ मा धेरै रोपाइँ भएको छ। यीबाहेक अन्य ठाउँहरूमा पनि फाटफुट मात्रामा रोपाइ भइरहेको बाली संरक्षण अधिकृत सुवेदीले बताइन् ।

पर्वतमा मुख्य गरी झिनुवा, गुडुरा, च्याम्पियन, युएस३१२, चैते–५, एक्ले, छेमरोङ, खुमलटार, गौरिया, गुडुरा, मार्सी, पहेले, जर्नेलीसहित केही स्थानीय जातका धान रोप्ने गरिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार पर्वतमा करिब २८ हजार खेतीयोग्य जमिनमध्ये करिब ७ हजार २ सय हेक्टरमा धान खेती हुने गरेको छ । जसबाट २० हजार ५ सय २० मेट्रिक टन उत्पादन हुन्छ ।

पर्वतमा मुख्य बालीको रूपमा चिनिने धान बालीको उत्पादन भने प्रत्येक वर्ष घट्दै जाने देखिएको छ । तत्कालिन कृषि ज्ञान केन्द्र कार्यालय पर्वतले २०७७ सालमा सार्वजनिक गरेको तथ्याङ्कमा जिल्लामा नौ हजार ७० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको भनिएको थियो । जबकी यस वर्ष ७ हजार १ सय ६० हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ हुने अनुमान गरिएको छ ।

समयमै र पर्याप्त वर्षा धान रोपाई मात्रै प्रभावित नभएर कतिपय स्थानमा बारीमा रोपिएको कोदोसमेत मरेको छ । रोपाइका लागि बीउ तयार भएपछि रोप्नैपर्ने बाध्यताबीच कोदो रोपिएको भए पनि वर्षा नभएको र चर्को घाममा परेर कोदोको बीउ नै सुकेको हो । कतिपय ठाउँमा भने कृषकहरूले अझै पनि कोदो रोपाइँ नै गरिरहेका छन् ।