पर्वत / पर्वत जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिको आयोजनामा सम्पन्न घोषणा कार्यक्रममा पर्वत जिल्लाका सातवटै स्थानीय तहले राष्ट्रिय मापदण्डअनुसार पूर्ण खोप सुनिश्चितता कायम गरेपछि औपचारिक रूपमा घोषणा गरिएको हो ।

कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वतका प्रमुख बद्रीराज आचार्यले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी जिल्लाको प्रतिवेदन प्रस्तुत गर्दै पर्वत जिल्लाले राष्ट्रिय खोप कार्यक्रमको मापदण्ड पूरा गरेको जानकारी गराउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि विष्णुराम बिकले पूर्ण खोप सुनिश्चितता घोषणा पर्वत जिल्लाका लागि गौरवको विषय भएको उल्लेख गर्दै सबै सरोकारवालाको संयुक्त प्रयासबाट यो सफलता सम्भव भएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले घोषणा पश्चात् यसको निरन्तरता अझ चुनौतीपूर्ण हुने उल्लेख गर्दै सबै निकायले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले जनस्वास्थ्य प्रवद्र्धनमा सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो । स्वस्थ समाज निर्माणका लागि सञ्चार माध्यमको भूमिका अझ प्रभावकारी बन्नुपर्ने धारणा सापकोटाले व्यक्त गर्नुभयो ।
प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख बद्रीराज आचार्यले प्रस्तुत गरेको प्रतिवेदनअनुसार पर्वत जिल्लाका सातवटै स्थानीय तहमा घरधुरी सर्वेक्षण सम्पन्न गरी १६ देखि २३ महिनासम्मका बालबालिकाको खोप अवस्थाको समीक्षा गरिएको थियो । प्रतिवेदनमा ८९२ जना बालबालिकामध्ये ८८२ जनाले राष्ट्रिय खोप तालिकाअनुसार सबै खोप प्राप्त गरेको, छुट भएका बालबालिकालाई समेत खोजी गरी खोप उपलब्ध गराइएको तथा जिल्लाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका सबै मापदण्ड पूरा गरेको उल्लेख गरिएको छ ।







