कटुवाचौपारीका ३ टुहुरा बालकहरुले जग्गा पाए

माघ,२२–पर्वत/कुस्मा नगरपालिका ९ कटुवाचौपारीका ३ टुहुरा बालकहरुले जग्गा पाएका छन् । बाबुको मृत्यु र आमा अन्यत्रै बिहे गरेर गएपछि अलपत्र बनेका उनीहरुलाई बास बस्ने घर बनाउन जग्गा प्रद्यान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको संयोजकत्वमा पूर्व जिविस उपसभापति रामशर्मा पौडेलले ५ आना जग्गाको लालपूर्जा प्रदान गरेका हुन् । यस्तै उनीहरुलाई सडक डिभिजन कार्यालयका इन्जिनयर सुरेन्द्र गौतम लगायतले रु १ लाख रुपैयाँ सहयोग गरेका हुन् । बिशाल परियार,विवेक दर्जी र विश्वास परियारले गत जेठ यता पोखरामा रहेको एस.वो.एस संस्था मार्फत मासिक २ हजार पढाई खर्च सहयता स्वरुप प्राप्त गरेका छन् ।

ती बालकहरुका पिता धन बहादुर दमैको मृत्यु भए पछि उनीहरुका दुवै आमा देवी दमै र सावित्री दमैले दोश्रो विवाह गरेर अन्यत्र गएका कारण संरक्षकबाट बञ्चित भएका उनीहरु हजुरआमाको साहरामा वस्दै आएका छन् । जग्गा पाएपछि घर निर्माण गर्न पनि पहल भैरहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।