माघ–९,पर्वत/प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल मंगलबारबाट सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिएको छ । तरुण दलले सरकार विरुद्ध सातवटै प्रदेशमा सडक आन्दोलन गर्ने यसअघि नै घोषणा गरेको थियो ।
सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार, महंगी, मूल्यबृद्धी, प्रेसमाथिको हस्तक्षेपसँगै वाइडबडी प्रकरण, निर्मला पन्त हत्या प्रकरणलगायतका गैर–कानुनी र अलोकतान्त्रिक क्रियाकलापका विरुद्ध तरुण दल सडक आन्दोलनमा उत्रिन बाध्य भएको नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङले जानाकारी दिनुभयो ।
सरकारको गैरकानुनी तथा अलोकतान्त्रिक रबैयाको बिरोधमा नेपाल तरुण दलले सातै प्रदेशको राजधानीमा बिरोध प्रर्दशन, ¥याली तथा सभा गर्ने निर्णय गरेको कोषाध्यक्ष गुरुङले बताउनुभएको छ । काँग्रेसका युवा नेताका रुपमा समेत परिचित गुरुङले मोदीकाली अनलाइनसँगको विशेष कुराकानीमा वर्तमान कम्युनिष्ट सरकारले जनताको अधिकार मिच्ने काम गरेको र जनताले पाउनु पर्ने सुविधाबाट बन्चित गरेकोले आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको दावी गर्नुभयो ।
यस्तै उहाले सरकारको यो गैरकानुनी र अलोकतान्त्रिक रबैयाको विरुद्धमा नेपाल तरुण दल सदैव अगाडी आउने र नेपाली जनताको अधिकारको निमित्त जस्तो सुकै संघर्ष गर्नपनि पछि नहट्ने कुरा समेत बताउनुभयो । उहाँले यदि सरकारले प्रतिपक्षलाई निषेध गर्ने र अधिनायकवादी शैलीलाई दोहो¥याइरह्रो भने त्यसको खतरनाक परिणाम भोग्नुपर्ने चेतावनी समेत दिनुभएको छ ।
तरुणदलले घोषणा गरेको विरोध कार्यक्रम मंगलबार प्रदेश नम्बर १ को विराटनगरबाट शुरु भएको छ । आन्दोलनमा हजारौं तरुण युवाहरुले सरकारविरुद्ध देशैभरिबाट आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने उद्घोष गरेका थिए । तरुण दलले घोषणा गरेको सरकार विरुद्धको आन्दोलनलाई सघाउन कांग्रेसले केही दिन अघि नै ७७ वटै जिल्ला कार्यसमितिलाई परिपत्र गरेको थियो ।
तरुण दलले माघ ९ गते प्रदेश नम्बर २ को जनकपुरमा, माघ १० गते प्रदश नम्बर ३ को हेटौंडामा, माघ ११ गण्डकी प्रदेशको पोखरामा, माघ १२ गते प्रदेश नम्बर ५ को भैरहवा, माघ १३ कर्णाली प्रदेशको सुर्खेतमा र माघ १४ सुदूरपश्चिम प्रदेशको धनगढीमा सरकारविरुद्ध प्रदर्शन गर्ने छ ।
वर्तमान कम्युनिष्ट सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार, चरम मुल्य बृद्धि, निर्मला पन्त बलात्कारपछि हत्या काण्डमा केही गर्न नसकेको भन्दै विरोध स्वरुप आन्दोलनमा उत्रिएको नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले जानकारी दिनुभएको छ ।






