कालीगण्डकीमा हाम फालेर एक युवा वेपत्ता : आफन्तद्वारा सडक अवरुद्ध

पर्वत/जिल्लामा टिपर चेकजाँचका क्रममा एक युवा कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएका छन्। कुश्मा नगरपालिका–१ मालढुङ्गामा पर्ने पोखरा–बाग्लुङ राजमार्ग अन्तर्गत सोमबार राति करिब ८ बजेको समयमा प्रहरीद्वारा सवारी चेकजाँचका क्रममा उक्त घटना भएको हो।

जलजला गाउँपालिका–८ का २४ वर्षीय विशाल बिकले मालढुङ्गा पुलबाट कालीगण्डकी नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्लेरहरी नायब उपरीक्षक बिजय यादबले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार लागूऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा टिपर जाँच गर्ने क्रममा उनी नदीमा हाम फालेर बेपत्ता भएका हुन्। घटनामा संलग्न भनिएका दुई जनामध्ये एक जना फरार रहेका छन् भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, मृतकका आफन्त तथा स्थानीयवासीले प्रहरीले लखेटेका कारण आत्तिएर नदीमा हाम फालेको आरोप लगाउँदै मंगलबार बिहानदेखि पोखरा–बाग्लुङ राजमार्ग अवरुद्ध गरेका छन्। अवरुद्ध राजमार्ग खुलाउनका लागि स्थानीय प्रशासन र सुरक्षा निकायले पहल गरिरहेको जनाइएको छ।