पर्वत/ सरकारले प्रस्तावित ६४० मेगावाटको कालिगण्डकी जलासययुक्त जलविद्युत आयोजना बनाउन लागेको छ। विद्युत विकास विभागले अहिले जलासययुक्त आयोजनाको वातावरणीय प्रभाव मूल्याँकन (इआइए) प्रतिवेदन तयार पारेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले पठाएपछि वन तथा वातावरण मन्त्रालयले इआइए प्रतिवेदन स्वीकृतिका लागि प्रक्रिया अघि बढाएको छ।आयोजना बागलुङ, पर्वत, स्याङ्जा र गुल्मी जिल्लामा प्रस्ताव गरिएको छ।
प्रतिवेदनअनुसार निर्माण हुने जलाशयका कारण कालीगण्डकी नदी किनारमा पर्ने पर्वतको जलजला गाउँपालिका, कुश्मा नगरपालिका, फलेवास नगरपालिका, विहादी गाउँपालिका, बागलुङको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गुल्मीको कालीगण्डकी गाउँपालिका तथा स्याङ्जाको गल्याङ नगरपालिकाका भूभागहरू प्रभावित हुनेछन्।
आयोजनाका लागि कालीगण्डकी गाउपालिका ६, उर्लेनी तथा विहादी गाउँपालिका २, बर्राचौरमा नदी सतहबाट २०० मिटर अग्लो बाँध नदीको बायाँ किनारतर्फ १२ सय ४० मिटर र ११ सय १० मिटर लामो दुईवटा डाइभर्सन सुरुङ, साथै नदीको बायाँ किनार बर्राचौरमा बाँधबाट करिब २५० मिटर तल्लो तटमा अर्धभूमिगत विद्युतगृह निर्माण गरिने भएको छ।
विद्युतगृहबाट निकास हुने पानी पुनः कालीगण्डकी नदीमै छोडिनेछ।
आयोजनाबाट सिर्जना हुने जलाशयको अधिकतम जलस्तर समुद्री सतहदेखि ७६० मिटर रहने भएको छ। बाँधबाट २९ किलोमिटर माथिल्लो तट खनियाघाटसम्म डुवान क्षेत्र फैलिनेछ।
आयोजनाको वार्षिक एक अर्ब ६४ करोड ५६ लाख युनिट ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ। विभागले तयार पारेको मस्यौदाअनुसार परियोजना सम्पन्न गर्न दुई खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ लाग्ने देखिएको छ। यद्यपि, लागत घटबढ हुने संभावना पनि छ।
विद्युत उत्पादन सुरु गरेपछि आयोजनाले वार्षिक १५ अर्ब रुपैयाँ आम्दानी गर्न सक्ने अध्ययनले देखाएको छ। आयोजनाबाट जलविद्युतका साथै जलपरिवहन र बाढी नियन्त्रणका लागि ठूलो भुमिका खेल्नेछ।
इआइएको काम अस्ट्रेलियाको स्मेक जेड जेभीले सम्पन्न गरेका हुन्।
कालीगण्डकी धार्मिक एवम् पौराणिक हिसाबले समेत महत्वपूर्ण रहेकाले नदी किनारमा रहेका मोदीवेणी, जैमिनीलगायतका प्रसिद्ध धाम तथा विभिन्न घाटसमेत डुबानमा पर्नेछन्।
प्रतिवेदनमा तिनको उचित स्थानान्तरण तथा व्यवस्थापन गरिने उल्लेख छ। त्यसैगरी १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत आयोजना, १.५ मेगावाटको ठेउलेखोला र तल्लो ठेउलेखोला, बञ्जिजम्प, जिपलाइन, तथा पुष्पलाल मध्यहाडी र कालीगण्डकी करिडोरको केही भागमा समेत प्रभाव पर्ने बताइएको छ।
पछिल्ला वर्ष कालिगण्डकी नदी करिडोरमा धेरै जलविद्युत आयोजना निर्माण हुने क्रममा रहेका छन्। यस्तै १८० मेगावाटको कालिगण्डकी गर्जका लागि एक दर्जन ठूला जलविद्युत आयोजना निर्माण भइरहेका छन् । nepal clicks बाट





