पर्वत/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारले गरेका पछिल्ला अव्यवहारिक कामको विरोध गरेका छन् । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले आयोजना गरेको बाग्लुङ मिडिया मेला उद्घाटन गर्दै उनले सरकारी कार्यालयका विज्ञापन सरकारी सञ्चार माध्यमलाई दिन भएको परिपत्र अव्यवहारिक र अपरिपक्व निर्णय भएको भन्दै विरोध गरेका हुन् ।
सरकारी सञ्चार माध्यमहरूलाई सरकारी विज्ञापन वा सूचना दिने कुरा केही समय टिके पनि लामो समय टिक्न नसक्ने उनको दाबी छ । कलम स्वतन्त्र परिवेशमा जस्तै चाल्नुपर्ने चर्चा गरेका उनले संविधान र संघीयताको बर्खिलाप हुने गरी संघ सरकारले जारी गरेका परिपत्र पालना गर्न प्रदेश सरकार र स्थानीय सरकार बाध्य नहुने प्रष्ट पारेका छन् । ‘हिजो आफू मेयर हुँदा संघ सरकारको हस्तक्षेपको चर्को विरोध गर्दै आएका वर्तमान प्रधानमन्त्री वालेन्द्र शाहले आफू संघ सरकारमा पुगेपछि प्रदेश र स्थानीय तहको क्षेत्राधिकार माथि हमला गर्न थालेको मूख्य मन्त्रीको तर्क थियो ।
संघ सरकारले अनावश्यक रुपमा प्रदेश र स्थानीय सरकारलाई हस्तक्षेप गर्न नपाउने उनको जिकर छ । मुख्यमन्त्री पाण्डेले परिपत्रकै आधारमा प्रदेश र स्थानीय तहले सञ्चारमाध्यमलाई विज्ञापन दिन तर्सिन् नपर्ने समेत वताए । सरकारी सञ्चार माध्यमले प्रतिस्पर्धा गर्न नपर्ने कुरा गलत रहेको भन्दै लोकतन्त्रमा सबैले स्वच्छ प्रतिस्पर्धा गर्न पाउने धारणा राखे । मुख्यमन्त्री पाण्डेले देशमा बलियो सत्तापक्ष र निकै कमजोर प्रतिपक्ष भएको हुनाले मिडियाले आफ्नो भूमिकालाई सशक्त प्रतिपक्षको रूपमा अघि सार्न सुझाव समेत दिए ।
मुख्यमन्त्री पाण्डेले एसईईको उत्तरपुस्तिका परीक्षा केन्द्रले जाँच्ने कुरा पनि व्यवहारिक नभएको बताए । उनले कपि जाँच्नेलाई परीक्षार्थीले चिन्न नहुने तर्क गरे । सरकारले लोकप्रियताका नाममा गलत निर्णय गर्न नहुने उनको प्रष्टोक्ति थियो ।
पत्रकार पत्रकारिता र सञ्चारमाध्यमसँग सम्बन्धित विविध विषयमा छलफल र बहस हुने बाग्लुङ मिडिया मेला दुई दिनसम्म चल्नेछ ।






