पर्वतमा ९ सय ४९ किशोरीलाई पाठ्यघरको मूखको क्यान्सर बिरुद्ध एचपीभी खोप दिईंदै

पर्वत/पाठेघरको मुखको क्यान्सर बिरुद्ध यसबर्ष पनि एचपीभी खोप कार्यक्रम अभियानका रुपमा सञ्चालन गरिने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतले यही २७ देखि २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन गर्ने तयारी गरेको हो । जनस्वास्थ्य कार्यालयले वुधवार सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सरोकारवाला निकायहरुसंग अभिमुखीकरण कार्यक्रम गरेर अभियानको बारेमा जानकारी दिएको हो ।

कार्यक्रमअनुसार यसबर्ष कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई एचपीभी खोप दिइनेछ । गत वर्षको एचपीभी खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि यो खोप दिइने व्यवस्था गरिएको छ ।

कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्य पर्वत जिल्लाभर नौ सय ४९ जना छात्राहरुलाई यो खोप लगाउने तयारी भएको जानकारी दिनुभयो । उहाँले रोगहरु मध्ये क्यान्सर सबैभन्दा बढी घातक भएकोले पाठेघरको मुखको क्यान्सरबाट जोगिनका लागि किशोरीहरूलाई एचपीभी खोप कार्यक्रममा सहभागी गराउन सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख एवं खोप समन्वय समितिका संयोजक विष्णुराम विक, प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेल, अस्पताल विकास समितिका अध्यक्ष याम परियार शिब, पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर ढुण्डीराज पौडेल, पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा लगायतले बोल्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण परिवार नियोजन सुपरभाइजर नारायणप्रसाद रेग्मी र कार्यक्रम वारे जानकारी पब्लिक हेल्थ नर्सिङ निरिक्षक सुमन शर्माले दिनुभएको थियो ।