पर्वत/कुश्मा नगरपालिकाको पटक–पटकको सुचना, निर्देशन र अनुरोधलाई अटेर गर्दै नवनिर्मित बसपार्कमा टिकट काउन्टर सार्न असहमत भएपछि नगर प्रमुख रामचन्द्र जोशी आफै मैदानमा उत्रिएका छन् । शुक्रबार नगर प्रमुख रामचन्द्र जोशीसहित जनप्रतिनिधि, नगर कर्मचारी, प्रहरी तथा सरोकारवालाहरुको समुहले शिवालयचोक क्षेत्रमा रहेका टिकट काउन्टरमा ताला लगाएर तत्काल बसपार्कबाटै टिकट काट्न निर्देशन दिएको छ । बसपार्क निर्माण भएको लामो समय हुँदापनि स्थानीयको अबरोधपछि बसपार्क सञ्चालनमा आउन सकेको थिएन । कुश्मा नगरपालिकाले प्रतिष्पर्धामार्फत बसपार्क सञ्चालनका लागि ठेक्का लगाएर सम्झौता गरेपनि उनीहरूको अवरोधका कारण बसपार्क सञ्चालन हुन नसकेको अवस्थामा नगर प्रमुख जोशीले मैदानमा उत्रिएर शिवालयचोकक्षेत्रका टिकट काउन्टर बन्द गराएका हुन् ।
जोशीले स्थानीय सरकारले गरेको राम्रो काममा समर्थन गर्न र सहयोग गर्न पनि आग्रह गरेका थिए । शिवालयचोक, साझाचोक, खरेहाक्षेत्रमा जथाभावी सवारी साधन पार्किङ गरेर राख्दा दुर्घटनाको जोखिम बढेको भन्दै नगर प्रमुख जोशीले बसपार्कमै पार्किङ गर्ने र सडक पेटीमा रहेका काउन्टर बसपार्कबाटै चल्नुपर्नेमा जोड दिए । अन्य यातायात समिति बसपार्कबाटै टिकट काट्न सहमत भएपनि साझा यातायात बसपार्कमा नजादा अन्य समिति पनि शिवालयचोकमा फर्किएका थिए । शुक्रबार साझा यातायातसहितका सबै काउन्टरमा ताला लगाएर बसपार्कबाटै टिकट काट्ने ब्यवस्था मिलाउन निर्देशन दिइएको कुश्मा नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष इश्वर गिरीले जानकारी दिए । बसपार्क सञ्चालन संगै अव्यवस्थित पार्किङ र दुर्घटना कम गर्ने अपेक्षा गरिएको छ ।
बसपार्क सञ्चालनका लागि कुश्मा नगरपालिकाले गत साउन २९ गते ११ लाख १९ हजार दुई सय ५२ रुपैयाँमा बोलपत्र आह्वान गरेको थियो । उक्त बोलपत्र युवा व्यवसायी दीपक पुनको नाममा स्वीकृत भई सम्झौता भएको थियो । अबदेखि नियमित रूपमा बसपार्कबाटै जिल्लाभित्र र बाहिर जाने सवारीसाधन छुट्ने बसपार्क सञ्चालक दीपक पुनले जानकारी दिए । उनका अनुसार यात्रुहरुलाई कुन ठाउँमा सवारीसाधनको प्रतीक्षा गर्ने भन्ने झन्झट हटेर जाने र यसले अव्यवस्थित रूपमा हुँदै आएको पार्किङ र दुर्घटनाहरू न्यूनीकरण हुने उनले बताए ।
निर्माण सम्पन्न भएर पनि बसपार्क सञ्चालन नहुँदा निर्मित संरचना जीर्ण बनेको, अव्यवस्थित पार्किङले सवारी दुर्घटनाहरू बढ्दै गएको, यात्रुहरूले सुरक्षित रूपमा सवारीसाधन प्रयोग गर्न नपाएको जस्ता समस्या बढेको भन्दै लामो समयदेखि बजारवासीहरूले बसपार्क सञ्चालनको मागसमेत गर्दै आएका थिए । बसपार्क सञ्चालन नहुँदा कुस्माको शिवालय चोक र मध्यपहाडी लोकमार्गमा अव्यवस्थित रूपमा सवारीसाधनहरू पार्किङ गरेर राख्ने गरिएको थियो । भवनसहित बसपार्कको संरचना अघिल्लो असारमै निर्माण गरेर गत वर्षको कात्तिकमै सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले कुश्मा नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।
छ करोड ६६ लाख तीन हजार दुई सय ५० रुपैयाँको लागतमा बनेको बसपार्क हाताभित्र दुई ठाउँमा सवारीसाधन पार्किङको व्यवस्था मिलाइएको छ । दुई तले भवनसहित टिकट काउन्टर, यात्रु प्रतीक्षालय, शौचालय र व्यावसायिक प्रयोजनका लागि आठ वटा सटरसहितको कोठा निर्माण गरिएको छ । पर्वत सदरमुकाम कुश्मा बजारबाट दिनहुँ काठमाडौँ, पोखरा, सुनौली, विराटनगर, नेपालगन्ज, भैरहवा, काँकडभित्तालगायतका सहरमा सार्वजनिक सवारीसाधनहरू छुट्ने गर्छन् भने दैनिक हजारौँको संख्यामा सवारीसाधनहरू बागलुङ, रुकुम, म्याग्दी, मुस्ताङका लागि कुश्माहुँदै जाने गर्दछन् । पछिल्लो समयमा मध्यपहाडी लोकमार्ग बनेसंगै रुकुम, डोल्पासम्मका सवारी काठमाडौ जान यही रुट प्रयोग गर्छन ।






