कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको काममा ढिलाई भएपछि सांसद सुवेदीले गराए मन्त्रीको ध्यानाकर्षण

पर्वत/गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको कालोपत्रेको काम ढिलाइ भएकोप्रति सम्बन्धित मन्त्रालयमा ध्यानाकर्षण गराएका छन्। सुवेदीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण गराएका हुन्।

सुवेदीले बागलुङमा रहेका दुई राष्ट्रिय गौरवका आयोजनाहरू कालीगण्डकी करिडोर र पुप्पलाल मध्यपहाडी लोकमार्ग बागलुङखण्ड महत्त्वपूर्ण रणनीतिक सडकहरू भएकाले वर्षौँदेखि अलपत्र कालेपत्रेको काम तत्काल सम्पन्न गर्नुपर्ने भन्दै मन्त्रीलाई ध्यानाकर्षण गराएका हुन्। कालीगण्डकी करिडोरको मालढुंगा– बलेवाखण्डको १० किलाेमिटर र लोकमार्गको बागलुङ–घोडाबाँधे सडकखण्ड २६ किलाेमिटर समस्याग्रस्त अवस्थामा रहेकाले मन्त्रालयको अत्यावश्यक हस्तक्षेपका लागि अनुरोध गर्दै ध्यानाकर्षण गराएको सुवेदीले बताए।

कालीगण्डकी करिडोर निर्माण कार्य करिब चार वर्षअघि ठेक्का प्रक्रियामार्फत खड्का कृष्ण बिएन जेभी कन्स्ट्रक्सनलाई दिइएको भए पनि सम्झौतामा तोकिएको समयावधिभित्र कार्य सम्पन्न गर्न नसकिएको र निरन्तर समय थपिँदा पनि उल्लेखनीय प्रगति हुन सकेको छैन। लोकमार्गको बागलुङ–बिहुँ खण्डमा पनि  ठेक्का लागेको नौ वर्ष बितिसक्दा पनि कुनै सार्थक कार्य सम्पन्न हुन नसकेको र उक्त सडक दुई वर्षमा सम्पन्न गर्ने भनेर २०७३ सालमा आरत सिद्दिसाईसँग सम्झौता भएको थियो। स्थानीयवासीहरूले पटक–पटक दबाब दिए पनि सुनुवाइ नहुँदा आगामी मंसिरदेखि सो सडक पूर्ण रूपमा अवरुद्ध गर्ने स्थानीयले चेतावनीसमेत दिएको ध्यानाकर्षणपत्रमा उल्लेख छ।

दैनिक हजारौँ यात्रुहरूको आवतजावतसँग प्रत्यक्ष जोडिएका यस्ता महत्त्वपूर्ण सडकहरूमा बर्सेनि बजेट विनियोजन हुँदाहुँदै पनि ठेकेदारको लापरबाहीका कारण कार्य सम्पन्न नभएपछि सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण गराएको सुवेदीले बताए। बागलुङ जिल्लाका यी दुवै सडक खण्डका निर्माण कार्य यथाशीघ्र प्रभावकारी रूपमा सञ्चालन गराई तोकिएको समयमा सम्पन्न गर्न आवश्यक सहजीकरण गरिदिन मन्त्रीलाई आग्रह गरेको सुवेदीले बताए।

करिडोरको बलेवा–हर्मिचौरखण्ड कालोपत्रे भइसकेको छ भने लोकमार्गको पनि बिहुँ–पातिहाल्ने सडक कालोपत्रे भइसकेको छ। लोकमार्गको काम तत्काल सम्पन्न गर्न स्थानीयले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएका थिए। त्यसपश्चात् प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको संयोजनमा निर्माण कम्पनी र स्थानीयबिच आठबुँदे सहमति भएको छ।

मन्त्री घिसिङले तुरुन्त आवश्यक कामकारबाही अगाडि बढाउने र निर्माण कम्पनीलाई तत्काल काम सुरु गरेर सम्पन्न गर्नका लागि निर्देश गर्ने प्रतिबद्धता जनाएका छन्।  सुवेदीसँगै कांग्रेस नेता लक्ष्मण आचार्यलगायतका व्यक्तिहरू मन्त्री घिसिङलाई ध्यानाकर्षणपत्र बुझाउन पुगेका थिए।