स्वर्गिय डिल्लीराम लामिछानेको तेश्रो स्मृति दिवसको सन्दर्भ पारेर विद्यालयलाई शैक्षिक सामाग्री वितरण

पुष १२, पर्वत/नेपाली काँग्रेस पर्वतका प्रभावशाली नेता स्वर्गिय डिल्लीराम लामिछानेको तेश्रो स्मृति दिवसको सन्दर्भ पारेर डिल्लीराम लामिछाने समृति प्रतिष्ठान पर्वतले सिद्घेश्वर आधारभूत विद्यालय पिपलटारीमा विहिवार कम्प्युटरसहित शैक्षिक सामाग्री वितरण गरेको छ ।

कार्यक्रममा प्रतिष्ठानका तर्फबाट कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको थियो । सामग्री हस्तान्तरणपछि बोल्दै नगरप्रमुख जोशीले डिल्लीराम लामिछानेले पर्वतको राजनीतिक तथा सामाजिक क्षेत्रमा पुर्याउनु भएको योगदान अपुरणीय रहेको उल्लेख गर्दै स्वर्गिय लामिछानेले समाज रूपान्तरणका लागि देखेका सबै सपनाहरूलाई पुरा गर्न आफू प्रतिवद्ध रहेको वताउनु भएको थियो । स्वर्गिय डिल्लीराम लामिछानेका सहपाठी समेत रहेका नगरप्रमुख जोशीले लामिछानेको अभाव पार्टी र समाजलाई साधै खड्किरहने वताउनु भएको थियो । जोशीले सिद्धेश्वर आधारभूत विद्यालयका छात्राछात्रहरुलाई न्यानो कपडा सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भएको थियो ।

कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख तथा स्वर्गिय डिल्लीराम लामिछानेका धर्मपत्नी एवं प्रतिष्ठानका संरक्षक सीता काफ्ले लामिछानले स्मृति प्रतिष्ठानलाई साझा संस्थाको रुपमा विकास गर्न र संस्थाको माध्यमबाट बञ्चितीमा परेको समुदायको हितका निम्ति काम गर्न संस्थाका पदाधीकारीहरुसँग आग्रह गर्नुभएको थियो । उपप्रमुख लामिछानेले स्वर्गिय डिल्लीराम लामिछानेले समाज परिवर्तनका लागि देखेका हरेक सपनाहरु आफूले पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो । सोही कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन संघ गण्डकी प्रदेशका प्रमुख एवं केन्द्रीय उपाध्यक्ष शिव शर्मा अधिकारीले स्वर्गिय डिल्लीराम लामिछाने कुशल र त्यागी सामाजिक अभियन्ता भएको उल्लेख गर्दै स्वर्गिय लामिछानेले समाज र राजनीति दुवै क्षेत्रको परिवर्तनका लागि पुर्‍याएको योगदान पर्वतबासीका लागि अविस्मरणीय रहने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका प्रतिनिधि कुलप्रसाद उपाध्याय, जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख उद्विमराज पौडेल, विद्यालयका प्रधानाध्यापक खगराज शर्मा, नवचेतना सामुदायिक विकास केन्द्रका अध्यक्ष केशबदास वैरागी र समाजसेवी दण्डपाणि पाध्याले स्वर्गिय डिल्लीराम लामिछानेले राजनीतिक र सामाजिक क्षेत्रमा पुर्याएको योगदानवारे प्रकाश पार्नुभएको थियो ।
डिल्लीराम लामिछाने समृति प्रतिष्ठानका अध्यक्ष राजीव लामिछानेको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य मिना केसीले गर्नुभएको थियोभने कार्यक्रमको संचालन पार्वती उपाध्यायले गर्नुभएको थियो ।