समाज विकासका लागि राजनीतिबाट निरपेक्ष रहेर काम गर्न उपप्रमुख लामिछानेको सुझाव

मंसीर ७ पर्वत/प्रसिद्घ पर्यटकिय क्षेत्र पञ्चासेको काखमा अवस्थित कुनपा १४ आर्थरको साईस्वाँरामा निर्माणाधिन जलवराह समाजघरको विहिवार एक समारोहका बीच सिलन्यास गरिएको छ । जलबराह युवा क्लव तथा आमासमूहको संयुक्त प्रयासमा निर्माण हुन लागेको उक्त ३ कोठे समाजघरको कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले सिलन्यास गर्नुभएको हो । भवन सिलन्यासपछि बोल्दै कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले जलबराह युवा क्लव र जलबराह आमा समूहले समाजघर निर्माण गरेर समाजका जाति, भाषा र संस्कृतिलाई जोड्ने जुन अभियान थालेको छ यो निकै प्रशंसनीय भएको वताउनु भएको थियो । उपप्रमुख लामिछानेले आर्थरसँग आफूलाई अथाह माया भएको वताउँदै नगरसँग जोडिएको तर भूगोलका दृष्टिकोणले पछाडि परेको आर्थरलाई विकासमा प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न आफू पूर्ण प्रतिवद्घ रहेको वताउनु भएको छ ।
काफ्लेले आर्थर धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले निकै महत्वपूर्ण क्षेत्र भएकोले यसको विकास नगरको विकाससँग जोडिएको वताउनु भयो । उपप्रमुख लामिछानेले आर्थरको समग्र विकासका लागि कुश्मा नगरपालिका सदा सँगै रहेको जानाकारी दिँदै अनुपम सम्भावना बोकेको आर्थरलाई भरिभराउ बनाउन गाउँ छोडेर बाहिर गएका सबैलाई गाउँमा पुनर्स्थापित हुने बातावरण निर्माण गर्न सबैलाई आग्रह गर्नुभएको छ । उपप्रमुख काफ्लेले समाज र गाउँको विकासका लागि राजनीतिबाट निरपेक्ष भएर काम गर्न सबै जनप्रतिनिधिहरूलाई सुझाव समेत दिनुभएको थियो ।

कार्यक्रममा कुश्मा नगरपालिका १४ नं वडाका वडाअध्यक्ष भीमप्रसाद गुरूङले जलबराह युवा क्लव र आमा समूहद्वारा निर्माण गर्न लागेको समाजघरका लागि वडाबाट सहयोग गर्ने प्रतिवद्घता व्यक्त गर्दै राजनीतिबाट मुक्त रहेर समाजको विकासमा एक भएर लाग्न सबै वडाबासीलाई सुझाव दिनुभएको थियो । वडाअध्यक्ष गुरूङले आर्थर भौगोलिक दृष्टिकोणले विकट भएपनि प्रसिद्ध पञ्चासेको काखमा रहेको निकै मनोरम र एेतिहासिक ठाउँ भएकोले आर्थरको भविस्य उज्यालो रहेको दावी गर्नुभएको थियो । उहाँले साईस्वाँराबासीहरूले देखेको सपनालाई पुरा गर्न आफू पूर्ण ईमान्दारिताका साथ लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा स्थानीय समाजसेवी रामकृष्ण गुरूङ,पञ्चकोशी माविका प्रअ अर्जुन पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । जलबराह युवा क्लवका अध्यक्ष विकास गुरूङको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन क्लवका सल्लाहकार तथा संस्थापक अध्यक्ष हिमलाल शर्माले गर्नुभएको थियो भने स्वागत मन्तव्य निर्माण समितिका उपाध्यक्ष खिमलाल शर्माले गर्नुभएको थियो । सो समाजघर निर्माणका लागि कुल १२ लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।