ठेकेदार कम्पनीको लापर्वाहीका कारण अलपत्र परेको कालिगण्डकी लोकमार्गको पुल निर्माण शुरु

कार्तिक २९, पर्वत/झण्डै एक बर्ष अगाडि निर्माण कार्य शुरु भए पनि ठेकेदार कम्पनीले निर्माण कार्य बन्द गरेपछि अलपत्र परेको पर्वतको फलेवास नगरपालिका–६ मा पर्ने देविस्थान–कुर्घा जोड्ने लमायखोला मोटरेवल पुलको निर्माण कार्य शुरु भएको छ । स्थानीयको व्यापक गुनासो र दवाव पछि पुल निर्माण कार्य शुरु भएको हो ।

संघिय सरकारले निर्माण गरीरहेको कालीगण्डकी लोकमार्ग अन्तर्गतको पर्वत खण्डमा पर्ने सडकमा उक्त मोटरेवल पुलको निर्माण कार्य अगाडि बढेको हो । कालिगण्डकी लोकमार्ग खण्डमा पर्ने उक्त पुल निर्माण हुने भएपछि स्थानीय खुशी भएका छन् । एक वर्ष सम्म अलपत्र पर्दा स्थानीय निराश थिए । पुल निर्माण कार्यको प्रारम्भिक चरण मै निर्माण कम्पनीले काम छाडेपछि विगत १ बर्ष देखि पुल अलपत्र अवस्थामा छ । संघिय सांसद पदम गिरीको समन्वयमा निर्माण कार्य अगाडि बढेको भन्दै स्थानीयले निर्माण कार्य अन्तिम चरणमा नपुग्दासम्म पुल निर्माणको अनुगमन, निरिक्षण गर्न सांसदलाई आग्रह गरीरहेका छन । सांसद गिरीले निर्माण कम्पनी र कार्यालयसंग बारम्बार आफूले गरेको समन्वयका कारण निर्माण कार्य तत्काल शुरुवात भएको जानकारी दिनुभयो । उहाँले मंसीर महिनाबाट कामले थप गति लिने समेत बताउनुभयो ।

जिल्लाको दक्षिणी क्षेत्रसंग प्रत्यक्ष जोड्नका लागि छोटो दुरीको सडक खण्डमा उक्त पुल पर्दछ । पुल र सडक निर्माण हुँदा दक्षिण पर्वतको विहादी, पैयू र महाशिलाको यात्रा थप सहज हुने स्थानीयको विश्वास छ । झण्डै ५ करोड १३ लाखको अनुमानित लागतमा पुल निर्माण हुने मोटरेवल पुल २५ मिटर लामो र ११ मिटर चौडाईको रहेको छ । नयाँ बाटो गौचन जेभि कास्कीले मोटरेवल पुलको निर्माण गर्ने जिम्मेवारी प्राप्त गरेको छ ।