कार्तिक २९, पर्वत/नागरिकता र पासपोर्ट लगायतका सेवा दिँदै आएको जिल्ला प्रशासन कार्यालय पर्वतले अब यहाँ आउने सेवाग्राहीलाई स्वास्थ्य सेवा पनि प्रदान गर्ने भएको छ । जिल्ला प्रसासन कार्यालय पर्वतले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीका लागि बुधवारदेखि स्वास्थ्य परामर्श सेवा पनि शुरु गरेको हो । कार्यालयमा हरेक हप्ताको वुधवार जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्य परामर्श सेबा सञ्चालन हुने जनाइएको छ । जिल्ला प्रसासन कार्यालयमा बुधवार एक कार्यक्रमका बीच सेवा शुरु भएको घोषणा गरेको हो ।
जिल्ला प्रसासन कार्यालयमा आउने सेवाग्राहीलाई स्वास्थ्य परामर्श सेवा दिन लागिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । सेवा लिन आउने महिलालाई आफ्ना सन्तानलाई दुध चुसाउन सहज होस भनेर स्तनपान कक्ष पनि शुरू गर्न लागेको पनि प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो । उहाँले जिल्ला प्रसासन कार्यालय सेवामैत्री बनाउने क्रममा स्वास्थ्य परामर्श सेवा र स्तनपान कक्ष बनाउन थालिएको बताउनुभयो ।
प्रशासन कार्यालयमा सामान्य स्वास्थ्य समस्याका लागि औषधी वितरण पनि शुरु गरिने भएको छ । सेवाग्राहीलाई दैनिक प्रशासनिक सेवा सहित स्वास्थ्य परामर्श दिँदा दुईवटा सेवा एकैपटक पाउने अवसर प्राप्त हुने हेल्थ असिस्टेन धनमाया पुनले वताउनु भयो । अहिले जिल्ला कारागारमा रूघाखोकी, झाडापखाला र प्रेसरका रोगीहरूको उपचार गर्ने गरि स्वास्थ्य डेस्क सञ्चालन भैसकेको छ ।






