कार्तिक २८,पर्वत/कुश्मा नगरपालिका ८ चुवालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न यहाँका वडाअध्यक्षले नयाँ अभियान संचालन गरेका छन् । चुवामा रहेका विभिन्न धार्मिक स्थलहरुलाई समेटर नेपालकै अग्लो विष्णुवाटिका बनाउन थालिएको हो । उक्त विष्णु बाटिकामा १०८ पिपलका बोट र चौतारी निर्माण गर्ने, १०८ तुलसीका मठ निर्माण गर्ने र एकहजार ८ शालिग्राम दर्शन गराउने योजना रहेको कुश्मा नगरपालिका वार्ड नं ८ का वडाअध्यक्ष राजकुमार क्षेत्रीले जानाकारी दिनुभयो । आफ्नो वार्डको आर्थिक समृद्धि र दीगो विकासका लागि नमूना गाउँ र मूख्य धार्मिक गन्तव्य बनाउन लागिएको क्षेत्रीको दावी छ । उहाँले यो अभियान चुवाको आमूल परिवर्तनका लागि महत्वपूर्ण भएको समेत वताउनु भयो ।
क्षेत्रीका अनुसार उक्त ठाउँमा नेपालकै अग्लो बिष्णुको मुर्ती बनाउने योजना बनाइएको छ । स्थानीयले आँफैले स्वतस्फूर्त वाटिका, मुर्ती र चौतारी निर्माण गरेर धार्मिक गन्तव्य स्थल बनाउन लागेको वडाध्यक्ष क्षेत्रीले दावी गर्नुभयो । लालेश्वर मन्दिर, लालेश्वर गुफा, र धनेश्वर देबी मन्दिरलाई समेत समेटेर १५ सय मिटर लामो मुक्तिमार्ग बनाउने योजना समेत रहेको छ । यसका लागि कहिँ कतैबाट बजेटको व्यवस्था भने भएको छैन् । वडाध्यक्ष क्षेत्रीले चुवाका बासिन्दाहरु धर्ममा बढि रुची राख्ने र यहाँका धार्मिक स्थललाई विकास गरि पर्यटकीय क्षेत्र बनाउन कस्सिएकाले आर्थिक समस्या नपर्ने बताउनुभयो । स्थानीयबासिन्दाले आफैँ रकम संकलन गरि यो कार्य गर्ने संकल्प लिएका हुन् । अभियान सम्पन्न गर्न हालसम्म ४५ जना व्यक्तिले चौतारो बनाउने प्रतिवद्धता गरिसकेका छन्भने । १५ सय मिटर क्षेत्रभित्र पर्ने जग्गादाताहरुले आ–आफ्नो जग्गा समेत निःशुल्क दान गर्ने प्रतिवद्धता जनाइसकेकेको बुझिएको छ । अभियानका लागि स्थानीय कुलप्रसाद शर्माको संयोजकत्वमा १३ सदस्यीय निर्माण समिति समेत बनेर काम शुरु भएको अध्यक्ष क्षेत्रीले जानाकारी दिनुभयो ।
उक्त अभियानको कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानले हालै एक कार्यक्रमका बीच सिलन्यास गर्नुभएको थियो । उक्त अवसरमा बोल्दै लामिछानेले पर्वत चुवाका बासिन्दाले थालेको अभियान अरुका लागि प्रेरणदायी भएको बताउनुभयो । उहाँले स्थानीयबासिन्दाको अभियानलाई सफल बनाउन सहयोग गर्ने पनि बताउनुभयो । यहाँ चौपारी र मुर्ती कसैले बनाउन चाहान्छ भने सहयोग गर्न सकिने वडाध्यक्ष क्षेत्रीले बताउनुभएको छ ।






