पर्वत/कुश्मा नगरपालिका वडा नं २ खुर्कोटका एकसय ३० भन्दा बढी ज्येष्ठ नागरिकलाई दोसल्ला र सम्मान पत्र सहित अभिनन्दन गरिएको छ । नेपाली काँग्रेस पर्वतको प्रदेश सभा (क) क्षेत्रीय कार्यसमितिको आयोजनामा आइतबार उक्त सम्मान तथा अभिनन्दन कार्यक्रम गरिएको हो । यो उमेरमा आफूहरूलाई सम्मान गरिएकोमा खुर्कोटबासी ज्येष्ठ नागरिकहरूले खुसी व्यक्त गरेका थिए । उनीहरूले काँग्रेस पार्टीले आफूहरूलाई सम्झेर घरदैलोमै आइ सम्मान दिएकोमा पार्टीप्रति समेत आभार प्रकट गरेका थिए ।
जेष्ठ नागरिकलाई सम्मान प्रदान गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले काँग्रेस नागरिकको सुख दुखमा साथ दिने पार्टी भएकोले वृद्ध बाआमालाई भेट्न घरदैलोमै कार्यक्रम लिएर आएको वताउनु भयो । नेता जोशीले पछिल्लो समय समाजमा काम गर्नेको भन्दा गाली गर्नेहरूको वाहवाही भएकोमा चिन्ता व्यक्त गर्दै राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई तिरस्कार गर्न जनसमुदायलाई आग्रह गर्नुभयो । उहाँले निर्वाचन हारेपनि पर्वत काँग्रेस जिल्लाका ६१ वटै वडामा पुगेर जनताको वीचमा काम गरिरहेको दावी समेत गर्नुभयो । ‘जनताको शक्ति र अभिमतलाई विश्वास गर्ने पार्टीले एउटा निर्वाचन हारेर विश्राम लिँदैन, बरू जनताको घरदैलोमा पुगेर उनीहरूको सुझाव र सल्लाह लिएर अघि बढ्छ, म निर्वाचन हारे पनि तपाईंकै सुखदुखमा छु, कसैको भ्रममा नपर्नुहोला, काँग्रेसलाई माया गर्नुहोला ।’-नेता जोशीले भन्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा एकसय दिने विशेष अभियानका पर्वत प्रतिनिधि गोविन्दबहादुर शाहले यो देशको शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, सडक र रोजगारीको क्षेत्रमा नेपाली काँग्रेसकै सरकारले महत्वपूर्ण काम गरेको वताउँदै विकासको नाममा एक इन्ची सडक नबनाउनेहरूले नै जनतालाई भ्रममा पारेर काँग्रेसका भोट लुटेको आरोप लगाउनु भएको थियो । शाहले यो देशको शान्ति समृद्धि र स्थायित्वको लागि अझै एकपटक काँग्रेसलाई विश्वास गर्न आम नागरिकलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस पर्वतका निवर्तमान सभापति खिमप्रसाद भुसाल, गण्डकी प्रदेशका सांसद रेखा गुरूङ, नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य सरस्वती शर्मा जिज्ञासु, जिल्ला कार्य समिति सदस्य गणेशबहादुर क्षेत्री, कुश्मा नगरपालिका वडा नं २ का वडाअध्यक्ष लालकृष्ण वास्तोला, नेपाली काँग्रेसका खुर्कोटका वडा सभापति तीर्थप्रसाद शर्मा लगायतले बोल्नुभएको थियो ।
नेपाली काँग्रेस प्रदेश सभा (क )का क्षेत्रीय सभापति राजकुमार क्षेत्रीको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन क्षेत्रीय सचिव केशवप्रसाद उपाध्यायले गर्नुभएको थियो । भने कार्यक्रममा स्वागत मन्तव्य क्षेत्रीय कार्यसमितिका कोषाध्यक्ष चित्रकला शर्माले गर्नुभएको थियो ।