पर्वत/नेपाली काँग्रेसको ‘एसय दिने विशेष अभियान’ पर्वतमा पनि सुरु भएको छ । शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द बहादुर शाहले काँग्रेस कहिल्यै पनि सिद्धान्तबाट विचलित नभएको बताउनुभयो । विगतमा राणा र पञ्चायतसँग लड्दै आएको काँग्रेसलाई माओवादीले सिद्ध्याउन खोजेको बताउनुभयो । गाउँ, नगरदेखि प्रदेश हुँदै केन्द्रसम्म काँग्रेस नै बलियो रहेको काँग्रेसको साथमा जनता रहेकोले अबको निर्वाचनमा काँग्रेस एक्लैले बहुमत ल्याउन चाहेको उनको भनाई छ । अबको निर्वाचनमा सामूहिक रूपमा दौडिनको लागि नै यो कार्यक्रमको आयोजना गरिएको केन्द्रीय सदस्य शाहले बताउनुभयो ।
यस्तै गण्डकी प्रदेशका सहमहामन्त्री रामचन्द्र जोशीले वडामा भइरहेका गतिविधिहरूमा केन्द्रीय समितिबाट एउटै मात्रै कुराहरूमा बढी चासो राख्ने गरेको बताउनुभयो । धेरै दुःख गरेका व्यक्तिहरूबाट निर्माण भएको काँग्रेसको विस्तार र सङ्गठन सुधारका लागि नयाँ ढङ्गबाट काम गर्नुपर्ने उहाँको भनाई छ । राज्यले निर्दिष्ट गरेका कानुनहरूसँग जुधेर काम गर्ने चुनौतीकाबीच पनि सकेसम्म कामहरू गरिएको सहमहामन्त्री जोशीले बताउनुभयो । आफूले काम गर्नुको सट्टा अरूका कमजोरी र काम खोजेर त्यसैमाथि प्रहार गर्ने वातावरणले देश नबने उहाँको भनाई छ ।
नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङले आन्तरिक र बाह्य शक्तिहरूले अहिलेको व्यवस्थालाई ढालेर देशमा अस्थिरता ल्याउन खोजेको बताउनुभयो । नेपाली काँग्रेसले यस्ता चुनौतीहरू विगतबाट नै भोग्दै आइरहेको भन्दै नेपालका कम्युनिस्ट पार्टीहरूको चुनौती काँग्रेसले नै बोकिरहेको अध्यक्ष गुरुङको भनाइ छ । नयाँ आएका पार्टीहरू कहीँ न कहीँबाट सञ्चालनमा रहेको दाबी गर्दै उहाँले रवीन्द्र मिश्रदेखि रबी लामिछानेका पार्टीहरू अन्तिममा दरबारमा नै गएर मिल्ने उद्देश्य बोकेर आएको तर्क गर्नुभयो ।
सय दिनको अभियानमा पर्वतका विभिन्न पालिका, वडासम्म पुगेर पार्टीको गतिविधिका विषयमा छलफल गरिने नेपाली काँग्रेसका पर्वतका सभापति युवराज जोशीले बताउनुभयो । अभियानमा पार्टीका नीति, कार्यक्रम, चुनावी तयारीलगायतबारे स्थानीय नेता कार्यकर्तासँग छलफल हुने जिल्ला उनको भनाई छ । काँग्रेसमा रहेर काँग्रेसको चिन्ता नै नगर्ने व्यक्तिहरूले नै पार्टी कमजोर भएको भन्दै गफ गर्न नसुहाउने उहाँको भनाई छ । काँग्रेसमा समस्या रहेको भन्दै बाहिर कुप्रचार गरेर काँग्रेसलाई कमजोर बनाउन खोजिएको भए पनि अवस्था त्यस्तो नभएको सभापति जोशीले बताउनुभयो ।
कार्यक्रममा नेपाल काँग्रेस पर्वतका निवर्तमान सभापति खिमप्रसाद भुसाल, प्रदेश सांसद रेखा गुरुङ, नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य यामबहादुर मल्ल रामकृष्ण, सीता काफ्ले लामिछाने र रमेश पौडेल, महासमिति सदस्यहरू वसन्तबहादुर सि.के, र राधा कुमारी कुँवर क्षेत्री, महाधिवेशन प्रतिनिधि राजेन्द्र तिवारी, पैयुँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी (राज), काँग्रेस जिल्ला कार्यसमिति सदस्य लक्ष्मीकुमारी मेधासी, नेपाली काँग्रेस प्रदेश सभा क का सभापति राजकुमार क्षेत्री, फलेवास नगर समितिका सभापति हिरामणि सापकोटा, लोकतान्त्रिक उद्योग वाणिज्य सङ्घ पर्वतका अध्यक्ष शिव शर्मा पौडेल, दलित सङ्घका केन्द्रीय सदस्य प्रेम बि.क., नेपाल विद्यार्थी सङ्घ पर्वतका अध्यक्ष अजय पोख्रेलले बोल्नुभएको थियो ।
नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्त्ब्य उपसभापति शिव प्रसाद सुवेदीले राख्नुभएको थियो भने सञ्चालन सचिव अशोक उचै ठकुरीले गर्नुभएको थियो ।
नेपाली काँग्रेस पर्वतको कार्यालय बि.पी. स्मृति भवनमा भएको औपचारिक कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू, आमन्त्रित सदस्य तथा जिल्ला सल्लाहकार समिति, महासमिति तथा महाधिवेशन प्रतिनिधिहरू, नगर तथा गाउँ कार्यसमितिका सभापतिहरू, प्रदेश कार्यसमितिका सभापतिहरू, पूर्व जिल्ला पदाधिकारीहरू, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरूको उपस्थितिमा अभियान सुरु गरिएको हो ।