पर्वत/कुश्मा नगरपालिकाका छ वटा वडामा मुख स्वास्थ्य परियोजना सञ्चालन गरिएको छ । मुख स्वास्थ्य सम्बन्धी समस्याहरुलाई न्यूनीकरण गर्ने र जनचेतना फैलाउने उद्देश्यले कुश्मा नगरपालिकाको वडा नम्बर १, २, ६, ९,१० र ११ मा परियोजना सञ्चालन गरिएको हो । कुश्मा नगरपालिकाको सहकार्यमा जिभाय नेपालले जिभाय फाउण्डेसनको सहयोगमा परियोजना सञ्चालन गरेको हो । पर्वतसहित बागलुङ, कास्की र लमजुङमा गरी चार वटा जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको जिभाय नेपालले मंगलबार कुश्मामा आयोजना गरेको नगरपालिकास्तरीय परियोजना सल्लाहकार समितिको बैठकमा हालसम्म गरेको कार्यक्रम, गतिविधि र उपलब्धीको बारेमा जानकारी दिएको छ ।
बैठकलाई सम्बोधन गर्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले मुख स्वास्थ्य परियोजना अत्यन्त महत्वपूर्ण रहेकोले नगरपालिकाले सहकार्य गरेको उल्लेख गर्नुभयो । नगर प्रमुख जोशीले कुश्माका छ वटा वडा मात्र नभएर १४ वटै वडाले लाभान्वित हुने गरी परियोजना सञ्चालन गर्नका लागि नगरपालिकाले थप सहकार्य गर्न तयार रहेको पनि बताउनुभयो । ‘बाँकी वडामा पनि यो परियोजना सञ्चालन गर्नका लागि नगरपालिका सहकार्य गर्न तयार छ’ उहाँले भन्नुभयो । सही रुपमा मुखको स्वास्थ्यमा ध्यान नदिदा नै हरेक प्रकारका रोगहरु हाम्रो शरिरमा देखा पर्ने भएकोले पनि नगरपालिका मुख स्वास्थ्य परियोजना स्वीकार गरेर अगाडी बढेकोे धारणा जोशीले राख्नुभयो । उहाँले परियोजना अगाडी कति बालबालिकाले दाँत माझ्ने गरेका र पछि त्यसमा कस्तो प्रभाव परिरहेको छ भन्ने उपलब्धी संकलन गर्न पनि आग्रह गर्नुभयो । कार्यक्रममा मुख स्वास्थ्य परियोजनाका कार्यक्रम निर्देशक सरस्वती पुरीले हालसम्म भएका प्रगति प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार गत आर्थिक बर्ष कुश्मा ९ र १० मा यो कार्यक्रम सञ्चालन गरिएको थियो ।
चालु आर्थिक १, २, ६, ९, १० र ११ मा यो परियोजना सञ्चालन हुनेछ । साप्ताहिक दन्त क्लिनिक, विद्यालय मुस्कान कार्यक्रम, विद्यालय स्क्रीनिङ तथा सचेतना कार्यक्रम र समुदाय स्क्रीनिङ तथा सचेतना कार्यक्रम गरी चार चरणमा कार्यक्रम हुने कार्यक्रम निर्देशक पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम लागु भएका वडाका विद्यालयका सबै बालबालिका लक्षित गरेर परियोजना सञ्चालन हुनेछ । विद्यालयका बालबालिका र समुदायस्तरमा समेत मुखको सरसफाई नभएकै कारण धेरै प्रकारका रोग भित्रिने भन्ने कुरामा ध्यान नदिदा समस्या आएको भन्दै पुरीले मुख स्वास्थ्य सेवा अभिबृद्धि र समग्र सुधार गर्ने नै परियोजनाको प्रमुख लक्ष्य रहेको बताउनुभयो । उहाँका अनुसार मुखको स्वास्थ्यमा ध्यान नदिदा पाँच बर्षमुनीका ६७ प्रतिशत बालबालिकाको दाँत सड्ने समस्या देखिएको छ । त्यसैगरी १२-१३ बर्षमुनिका ४१ प्रतिशत बालबालिकाको दाँत सड्ने समस्या फेला परेको पनि पुरीले जानकारी दिनुभयो । यो कार्यक्रम कुश्माका चार वटा वडाका ३० विद्यालयकामा सन् २०२७ सम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा कुश्मा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले कार्यक्रम निकै सान्दर्भिक भएकोले सफल पार्नका लागि सबैको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । बैठकमा कुश्मा नगरपालिकाका नगर उपप्रमुख स्वस्थानी रिजाल, प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद पौडेल, वडा नम्वर १ का अध्यक्ष खगराज पौडेल, २ का अध्यक्ष लालकृष्ण बाँस्तोला, ६ का कार्यबहाक अध्यक्ष शिव गिरी, ९ का राम शर्मा लामिछाने, १० का अध्यक्ष रामचन्द्र सुबेदी, ११ का अध्यक्ष बाबुराम पौडेललगायतको उपस्थिति रहेको थियो ।