पर्वतमा डेंगी संक्रमितको संख्या ९४ पुग्यो: सचेत रहन स्वास्थ्यकर्मीको आग्रह

5

पर्वत/साउन महिना लागेसँगै एक/दुई जनामा डेंगुको पुष्टि भएको पर्वतमा पछिल्ला दिनमा संक्रमितहरूको संख्या ह्वात्तै बढेको छ । गत साउन एक गतेदेखि डेंगु संक्रमित देखिन थालेकोमा मंगलवारसम्म कुल ९४ जनामा डेंगु पुष्टि भइसकेको छ । कतिपय बिरामीहरु गम्भिर प्रकृतिका समेत रहेको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो । मंगलवार साँझसम्मको तथ्याङ्क अनुसार सबैभन्दा बढी कुश्मा नगरपालिकाका ७० जनामा सङ्क्रमणको पुष्टि भएको छ । मंगवार एकैदिन १२ जना संक्रमित कुश्मामा पुष्टि भएका हुन् ।

बाँकी २४ जना जिल्लाका अन्य स्थानीय तह सहित जिल्ला बाहिरबाट आएका बिरामी हुन् । उनीहरू मोदी गाउँपालिकाका पाँच जना, जलजला गाउँपालिकाका चार जना, फलेवास नगरपालिकाका नौ जना, महाशिला गाउँपालिकाका एक जना, विहादी एक र अन्य जिल्लाबाट आएका चार जना रहेका छन् । चार जना छिमेकी जिल्ला बागलुङका हुन् ।

‘विगत केही हप्तादेखि पर्वत जिल्लामा डेंगी सङ्क्रमण दिन प्रतिदिन दोब्बर हुँदै गएको हुँदा जो कसैलाई पनि यो रोग लाग्न सक्ने सम्भावना छ’, उहाँले भन्नुभयो, ‘जिल्लाका सबै सरकारी-गैर सरकारी निकाय, स्थानीय तहका सम्पूणर् वडा, स्वास्थ्य संस्था, विद्यालय, ग्यारेज, वर्कसप, कवाडी सङ्कलन केन्द्र, जनसमुदायको घर तथा पसल वरपर टोल तथा समुदायमा पानी जम्न नदिने, पानी जम्ने खाल्डाहरू पुर्ने, घर वरिपरि भएका झाडी सफा गर्ने, पानीका भाँडाहरू ढाकेर राख्ने अभियान सञ्चालन गर्न अनुरोध छ ।’

पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार गत साउन २९ गते सबैभन्दा बढी १९ जनामा संक्रमण पुष्टि भएको थियो । गर्मी याम र वर्षाका कारण लामखुट्टेमैत्री वातावरण तयार हुँदा लामखुट्टेको प्रजनन बढेको र यसले सङ्क्रमण बढाइरहेको हो । अस्पतालमा आउने उच्च ज्वरोका बिरामीहरू बढिरहेको र उनीहरूमध्ये नै डेंगुको सङ्क्रमण पुष्टि भएको हो ।

पर्वत अस्पताल वा जिल्लाका अन्य सरकारी स्वास्थ्य संस्थामा पुगेर उपचार गराउने क्रममा डेंगुको संक्रमण पुष्टि भएकाहरूको तथ्यांक आउने भए पनि जिल्लाबाहिर गएर उपचार गर्ने तथा निजी स्वास्थ्य संस्थामा पुगेर उपचार गराउनेहरूको विवरण भने पर्वत अस्पताल वा स्वास्थ्य कार्यालयमा आउँदैनन् । यही कारण अहिले पर्वतमा पुष्टि भएका ६४ जनाबाहेक जिल्लाका अन्य स्थानहरूमा पनि डेंगुका बिरामीहरूको संख्या बढिरहने अवस्था छ ।

स्वास्थ्य कार्यालय, पर्वत अस्पताल र स्थानीय तहहरूले पनि डेंगु रोकथामको लागि प्रचारप्रसार गरिरहे पनि लामखुट्टेको टोकाई र संक्रमण भने बढिरहेको छ । लामखुट्टेको प्रकोप बढ्दा पानी पोख्ने अभियान समेत चलाइएको थियो । पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बास्तोलाले बिहान र बेलुकाको समयमा जिल्लामा रहेको सबै सरकारी तथा गैर सरकारी निकाय, स्थानीय तहका सबै वडा, स्वास्थ्य संस्था, विद्यालय, ग्यारेज, वर्कसप, कवाडी संकलन केन्द्र, नागरिकका घर तथा पसलसहित समुदायमा रहेका पानी जम्ने खाल्डाखुल्डी, ताल, पोखरी, झाडी सबै ठाउँमा सरसफाइको अभियान चलाइएको र यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

लामखुट्टेको टोकाइबाट बच्न आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँहरूमा पानी जम्न नदिने, पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्ने, दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै वेला झुल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्ने गरी लुगा लगाउनेलगायतका उपाय अवलम्बन गर्नुपर्ने चिकित्सहरुको सुझाव छ ।