पर्वत/स्थानीय तह सञ्चालन कार्यविधिले निर्देशन गरेको सेवाप्रवाह र नागरिकप्रतिको जवाफदेहिताको विषयमा पर्वतका जनप्रतिनिधिहरू इमान्दार देखिएका छन् । आफू मातहत सम्पादन भएका काम र कार्यालयबाट वितरण भएका सेवाप्रवाहको वारेमा जनताको गुनासो र प्रतिक्रिया सुन्न नागरिक सुनुवाई कार्यक्रम मार्फत उनीहरू अहिले जनताको घरदैलोमा पुगेका छन् ।

नागरिकको गुनासो र प्रतिक्रिया सुन्न कुश्मा नगरपालिका यसपटक सवै वडामा पुगिरहेको छ । नगरपालिकाका प्रमुख, उपप्रमुख र सम्बन्धित वडाअध्यक्षहरुले कार्यालयका विषयगत शाखा प्रमुखहरु लिएर जनगुनासो सुन्न वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम गरिरहेका छन् । जनताका गुनासा सुन्ने, सुझाब ग्रहण गर्ने र प्रश्नको उत्तर दिने अयिभानमा कुश्मा नगरपालिका जुटिरहेको छ । नगरप्रमुख रामचन्द्र जोशीले सवै वडाहरुमा बडाबासीहरुको उत्साहजनक उपस्थितीमा अन्तरक्रियात्मक रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम अघि बढेको बताउँछन् ।

उता, जलजला गाउँपालिकाले पनि सवै वडाहरुमा पुगेर जनताको गुनासो सुन्ने कार्यक्रम सञ्चालन गरीरहेको छ । वडाहरुमा भएका विकास आयोजनाहरुलाई प्रचार प्रसार गर्ने, आगामी आर्थिक बर्षका लागि बजेट निर्माणका लागि सुझाब ग्रहण समेत हुने गरी जलजला अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षहरुले सवै वडाहरुमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरीरहेका छन् । अध्यक्ष राजु आचार्यले सवै वडाहरुमा वडाबासीको गुनासा सुनेपछि योजना तर्जुमा समेत सहयोग पुगेको बताउँछन् ।
जिल्लाको विहादी गाउँपालिकाले गत बर्षको भन्दा अझै परिकृष्ट सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्दैछ । गतबर्षहरुमा पालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम गरेको विहादीले यस बर्ष भने सवै वडाहरुमा पुग्ने निधो गरेको छ । विहादीका सवै वडाहरुमा हुने सार्वजनिक सुनुवाई कार्यक्रममा वडाका आगामी योजनाहरु समेतको विषयमा छलफल हुनेछ । अध्यक्ष परविन गुरुङले योजना तर्जुमा गोष्ठिको रुपमा समेत सार्वजनिक सुनुवाई कार्यक्रममा अघि बढाउने योजना रहेको बताएका छन् । अध्यक्ष गुरुङले पालिका स्तरीय कार्यक्रम गर्दा भुगोलका कारण सवै जनताको उपस्थिती हुन नसकेको भन्दै वडाहरुमा नै पुगेर पालिकाले गुनासा सुन्ने, सुझाब ग्रहण गर्ने र प्रश्नहरुको उत्तर दिने गरी पालिकाले योजना बनाएको बताउँछन् ।
यसैगरी जिल्लाको पैयू गाउँपालिकाले यस पटक पालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरीसकेको छ । पालिका अध्यक्ष तोरण मल्ल ठकुरीले जनताका सवै गुनासा सुनेर, जनगुनासो सम्बोधन हुने गरी काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
उता, महाशिला गाउँपालिकाले पनि सवै वडाहरुमा चालु बर्षका आयोजनाको समिक्षा सहित सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । यस अघि मोदी गाउँपालिका र फलेवास नगरपालिकाले पनि पालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरीसकेका छन् ।











