शिक्षामन्त्री श्रेष्ठले शिक्षक संगठनप्रति धावा बोलेको भन्दै शिक्षक संघका अध्यक्ष गिरीको आपत्ति

पर्वत/नेपाल शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरीले वर्तमान शिक्षा मन्त्री सुमना श्रेष्ठ जन्मनुभन्दा पहिले नै जन्मिएका संस्थाहरुमाथि मन्त्री सुमनाले नै धावा बोल्न नहुने बताउनुभएको छ । संघको ३५ औँ स्थापना दिवसको अवसर पारेर जिल्ला कार्यसमिति पर्वतको आयोजनामा आज भएको ‘स्मारिका विमोचन तथा निवृत्त शिक्षक सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मन्त्री श्रेष्ठले गरिरहेका कतिपय क्रियाकलापका कारण शिक्षकहरुमा त्रास पैदा भएको भन्दै उनले त्रास मान्नुपर्ने अवस्था भने नरहेको उल्लेख गर्नुभयो । बर्षौँ अगाडिदेखि सङ्गठित भएर शिक्षा क्षेत्रको पक्षमा मात्रै नभएर नेपालका ठूला क्रान्तिहरुमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका शिक्षकका पेशागत संघ÷सङ्गठनमाथि कसैले अनावश्यक धावा बोल्न आवश्यक नरहेको अध्यक्ष गिरीको भनाइ छ । अहिले मन्त्रीले दलीय आवद्धतामा रहेका शिक्षकहरुलाई कारबाही गर्ने कुरा सुमनाले बोलिरहेको भए पनि त्यो व्यवस्था भने यस अगाडि नै दलहरुले नै सहमतिमा निर्माण गरिसकेको उहाँले बताउनुभयो ।

यस्तै, नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले शिक्षा मन्त्री श्रेष्ठले ‘थाल ठटाएर हात्ती तर्छाउने’ काम गरिरहेको बताउँदै राम्रा कामका लागि भने सबैको सहयोग आवश्यक हुने बताउनुभएको छ । गृह मन्त्रालयको मुख्य व्यक्तिसँगै दोहोरो नागरिकता र दोहोरो राहदानी हुनु तथा उही व्यक्ति सहकारी ठगी प्रकरणमा मुछिँदा मन्त्रालय तथा नेपाली राजनीतिबारे नराम्रो खबर अन्तराष्ट्रिय जगतमा पुगेको उहाँको भनाइ छ । नेपालमा लोकतन्त्र ल्याउनका लागि खटेका शिक्षकहरुलाई एउटा मन्त्रीले मनलाग्दी शैलीमा पेल्न खोज्नु दुःखद भएको भन्दै सभापति जोशीले मन्त्रीको कार्यशैलीमा बिरोध जनाउनुभयो । शिक्षकले नै ल्याएको लोकतन्त्रमा शिक्षककै बोल्ने अधिकारलाई हनन गर्न नहुने भन्दै सभापति जोशीले शिक्षकले विद्यालयमा दिइरहेको गुणस्तरका बारेमा जानकार रहुनुपर्ने भनाइ राख्नुभयो ।

कार्यक्रममा बोलेका शिक्षक संघ गण्डकी प्रदेशका अध्यक्ष शिरोमणि लामिछाने, संघका केन्द्रीय सदस्य रुद्र सुवेदी, संघ पर्वतका संस्थापक अध्यक्ष बसन्तबहादुर सि.के., प्रदेशका उपमहासचिव बिष्णुप्रसाद शर्मा, कास्कीका अध्यक्ष राजु क्षेत्री लगायतले पनि बोल्नुभएको थियो । कार्यक्रममा शिक्षक संघका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो । सोही अवसरमा गत एक वर्षको अवधिमा पर्वतका बिभिन्न स्थानीय तहहरुबाट सेवाबाट अवकास लिएका तथा शिक्षक संघमा आवद्ध भएका २६ जना शिक्षकहरुलाई बाँकी समयको कुशलताको कामना गर्दै सम्मान गरिएको छ । सोही अवसरमा शिक्षक संघ पर्वतले पहिलो पटक तयार पारेको स्मारिका ‘शिक्षक सौरभ’ को पनि विमोचन गरिएको छ । उक्त स्मारिका झलक पौडेल र घनश्याम पौडेलको भाषा सम्पादन, पार्वती उपाध्याय, शीलादेवी भुसाल, पूर्णकुमार श्रेष्ठ र खेमराज भुसालको सम्पादन र सुभन्तनाथ सुवेदीको प्रधान सम्पादकीयमा तयार पारिएको हो । नेपाल शिक्षक संघ पर्वतका अध्यक्ष यज्ञनाथ बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नागेश्वर उपाध्यायले गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष मिना गौतम सुवेदीले स्वागत मन्तब्य राख्नुभएको थियो ।