पर्वत/कुश्मा नगरपालिका १ मालढुंगामा माझी समूदायले लदी पुजा अर्थात नदी पुजा गरेका छन् । कुश्मा नगरपालिकाको मालढुंगा र बागलुङ नगरपालिकाको बलेवा लगायतका ठाउँमा बस्ने माझी समूदायले कालिगण्डकी नदीको पूजा गरेका हुन् ।

नदी किनारमा बसेर दैनिक बालुवा चाल्दै आएका र माछा मार्दै आएका उनीहरुले आफ्नै मौलिक विधि अनुसार पूजाआजा सहित कार्यक्रमको आयोजना गरेर जनप्रतिनिधी लाई आफ्ना समस्या सुनाएका थिए । जलको पूजा गर्ने चलन माझी समुदायमा परम्परागत रूपमा चलिआएको छ । हरेक पटक डुगांमा बस्नु अगाडि या माछा मार्ने जाल लिएर जलाशयमा पस्नु अगावै यस समुदायमा जल देवताको सम्झना गर्ने चलन छ । यसै चलनको एउटा संस्थागत अभ्यास र उच्चतम विश्वासको प्रतिरूपका हिसाबले माझी समुदायले लदीपूजा गरेका हुन् ।
औपचारिक कार्यक्रम समेतको आयोजना गरेर माझी समुदायले गरेको लदी पुजामा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीको उपस्थिती थियो ।
खोला किनारमा माछा मार्ने, कृषि र पशुपालन पेसा पनि अपनाउने माझी समुदायले प्राकृतिक विपत् नआओस् भनेर हिउँदको अन्ततिर लदी पूजा गर्ने चलन छ । सामान्यतया लदी पूजा फाल्गुन महिनाको तेस्रो मङ्गलवार लदी पूजा मनाउने चलन छ । माझी समुदायको सबैभन्दा ठुलो पर्वका रूपमा लदीपूजालाई लिइन्छ ।
पुजाको अवसरमा पुजास्थलमा पुगेका नगरप्रमुख जोशीले प्रविधिको विकास संगै माझी समूदायले पनि आफ्नो परम्परागत पेशालाई आधुनिक बनाउन आवश्यक रहेको बताए । त्यसका लागि नगरपालिका सहयोग गर्न तयार रहेको जोशीले प्रतिवबद्धता समेत ब्यक्त गरे । जोशीले माझी समूदाय लोपोन्मुख समूदाय रहेको हुनाले राज्यले विशेष रुपमा चासो दिनुपर्ने बताए ।
जनजाति समुदायको रूपमा रहेको माझीहरूको जीवन नदीजन्य उत्पादनसँग जोडिएको छ । उनीहरूको परम्परागत पेसा माछा मार्ने रहँदै आएको छ । त्यसैले उनीहरू देवको रूपमा नदीको पूजा र प्रार्थना गर्छन् । ३३ कोटी देवी देउताहरू भाकेर नदी किनारमा नै यस दिन पूजा गरिन्छ । यसरी पूजा गर्दा कृषि औजार, माछा मार्ने जाल, नदी खियाउने औजार लगायत सबै राखेर पूजा गर्ने र बलि पनि चढाउने चलन छ । नदी किनारको असुरक्षित बसोबाससँगै नदीमा माछा मार्ने व्यवसाय नै मुख्य पेसा भएकाले उनीहरूले आफ्नो र आफ्नो समुदायको सुरक्षाको कामना गर्छन् । सो समुदायले आफ्नो संस्कृति र रीतिरिवाजको जगेर्ना गर्ने मूल उद्देश्यका साथ यो पर्वको सामूहिक आयोजना गरिएको नेपाल नेपाल माझी उत्थान संघ पर्वतले जनाएको छ ।
माझी समुदायको लदी पुजा कार्यक्रममा कुश्मा नगरपालिका ७ का वडाध्यक्ष परशुराम पुरी, आदीबासी जनजाती महासंघ पर्वतका अध्यक्ष राजन गुरुङ लगायतले जनजाति समुदायको पर्वको विषयमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा स्वागत सरु माझी र सञ्चालन बलबहादुर माझीले गरेका थिए ।
पर्वत र बागलुङको संगम स्थलमा पर्ने मालढुंगामा झण्डै ३ सयको संख्यामा माझी समुदायका परिवार बस्दै आएका छन् । बागलुङको बलेवा क्षेत्र, पर्वतको विहादी र फलेवासमा पनि माझी समुदायको बसोबास रहेको छ । माझी समूदायको हितमा अहिले सम्म राज्य स्तरबाट कुनै पनि सहयोग नभएको भन्दै कार्यक्रममा सहभागीहरुले आगामी दिनमा आस्वसन मात्रै नभएर अनुभूत हुने गरि सहयोग गर्न आग्रह गरेका थिए ।







