पर्वत काँग्रेसको दोश्रो जिल्ला सम्मेलन : पार्टीमा लागेका सबै कार्यकर्ताको मूल्यांकन हुन्छ- सभापति देउवा

पर्वत/नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पर्वत काँग्रेसको दोश्रो जिल्ला सम्मेलनलाई सोमवार कुश्मामा सम्बोधन गरेका छन् । सम्मेलनकै अवसरमा उनले सहिद परिवार, द्वन्द्वपीडित र पार्टीमा लामो समय दुख गरेका एकसयभन्दा बढिलाई सम्मान समेत गरेर फर्किएका छन् । जिल्ला सम्मेलनको उद्घाटनपछि बोल्दै सभापति देउवाले काँग्रेसीहरू इमान्दार भइदिने हो भने अबको निर्वाचनमा नेपाली काँग्रेस करिब बहुमतको नजिक पुग्ने बताएका छन् । देउवाले विगतका निर्वाचनमा टिकट नपाएकाहरूले अहिले चित्त दुखाउन नहुने उल्लेख गरे । टिकटको आकाक्षीहरू धेरै हुने तर समावेशी सहितका पदहरूमा भाग लगाउँदा आसा गरेका थोरैले मात्रै टिकट पाउने अवस्था हुने भएकोले टिकटको विषयलाई लिएर पार्टीभित्र अन्तर्घात गर्न नहुने सभापति देउवाको भनाइ थियो । ‘हामी इमानदार हुँदै आपसी एक भएमा करिब बहुमत आउँछ । आज टिकट नपाएकाहरूले भोलि पाइन्छ । पार्टीभित्र एक हुनुको विकल्प नै छैन’, उनले भने, ‘टिकट नपाएको विषयमा पार्टीभित्र पछि कुरा गर्ने हो । अहिले त पार्टीलाई मजबुत बनाउनपर्छ । पार्टीको हितका लागि पार्टीले दिएको निर्णय मान्नुपर्ने हुन्छ ।’

पार्टीमा टिकट नपाएकाहरूलाई व्यवस्थापन गर्ने अरू धेरै ठाउँहरू हुने भन्दै उनले आगामी निर्वाचनमा फेरि नेपाली काँग्रेस नै ठुलो पार्टी बन्ने अवस्था आएको दाबी गरे । गाउँपालिका र नगरपालिकाको अध्यक्ष भविष्यको प्रधानमन्त्री राष्ट्रपति भएका उदाहरणहरू रहेको भन्दै उनले अहिले स्थानीय तहमा रहेका जनप्रतिनिधिहरूलाई जनताको पक्षमा काम गर्न अनुरोध गरे । सम्मेलनमा शुभकामना मन्तब्य राख्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री डा. शशाङ्क कोइरालाले संविधानमा ‘धर्म निरपेक्ष’ भनेर राखिएको कुरा नै आफूलाई मन नपरेको बताएका छन् । धर्म कहिल्यै पनि निरपेक्ष र सापेक्ष नभई स्वतन्त्र हुने भएकाले धर्मको विषयमा निरपेक्ष र सापेक्ष भनेर राख्न नहुने उनको तर्क छ । ‘धर्म निरपेक्ष भनेर त लेखियो तर धर्म न निरपेक्ष हुन्छ न त सापेक्ष हुन्छ । यो त स्वतन्त्र हुन्छ । निरपेक्ष हुन्छ भन्नुको अर्थ नकारात्मक हो त्यसैले धर्म निरपेक्ष भन्ने हटाउनुपर्छ’, उनले भने, ‘नेपाली काँग्रेस आफैमा बलियो छ तर आपसमा मिल्न सकेको छैन । काँग्रेसलाई हराउने काँग्रेसले नै हो अरूमा त्यो शक्ति नै छैन ।’ २०४६ सालको आन्दोलनमा कम्युनिस्टसँग हातेमालो गर्नु नै काँग्रेसका लागि पहिलो दुर्भाग्य भएको उनले दाबी गरे । त्यो बेलामा एमालेसँग मिल्दा एमाले काँग्रेसकै बुई चढेको डा. कोइरालाको भनाइ छ ।

चुनावमा भएको अन्तर्घातको विषयमा बोल्दै उनले ‘आफूले टिकट पाए ठिक, नत्र बेठीक’ भन्ने मान्यताबाट बाहिर आउनुपर्ने सुझाव दिए । पार्टीको अनुशासनमा बसेर नेतालाई नेता मान्न सक्नुपर्ने डा. कोइरालाले बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभाका सदस्य गृह जिल्ला पर्वतकै नेता अर्जुनप्रसाद जोशीले गठबन्धनको विरोधमा बोल्ने काँग्रेसका कार्यकर्ताहरूप्रति संकेत गर्दै ‘आफ्नो घर भत्किएपछि छिमेकीकोमा जानुपर्ने’ बताए । ‘काँग्रेसले काँग्रेसलाई भोट नहाल्ने अनि फेरि गठबन्धनको विरोध किन गर्ने ? देउवाको रणनीतिका कारण मात्रै हामी अहिलेको अवस्थामा आएका हौँ’, नेता जोशीले भने, ‘आफ्नो घर भत्किसकेपछि छिमेकीको घरमा आश्रय चाहियो त्यसका लागि गठबन्धन भयो ।’ ‘सक्किने की सच्चिने ?’ अरू सच्चिनुपर्ने तर आफूले जे गरे पनि हुने भन्ने अर्थ नरहेको भन्दै उनले सच्चिन आवश्यक सबै सच्चिनुपर्ने बताए । गाउँ गाउँमा हिँड्ने बाटा भए पनि जनताले कमाई खाने बाटा नहुँदा काँग्रेसप्रति निराशा देखिएको उनले स्वीकार गरे । यसका लागि काँग्रेसले अब सोच्नुपर्ने बेला आएको भन्दै उनले काँग्रेसप्रति जनताको विश्वास नघटेको दाबी गरे। १४ औँ महाधिवेशनपछि पार्टीका सबै खालका सम्मेलन र अधिवेशन गरेका कारण नागरिकको विश्वास रहेको बताए । काँग्रेसले संविधान र लोकतन्त्रलाई मात्रै ध्यानमा राखेर काम गर्दा स्वरोजगार लगायतका विषयमा अलिकति अलमल हुँदा समस्या भएको नेता जोशीको भनाइ छ ।

यस्तै काँग्रेसका अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारीले ल्यापटप र मोबाइलले त बेलाबेलामा अपडेट मागेर आफूलाई उपल्लो स्थितिमा लैजाने गरेको भन्दै काँग्रेस भने अपडेट हुन नसकेको तर्क गरे । ‘काँग्रेसकै पालमा सूचना सञ्चारको कति विकास भयो । जनताको हात हातमा ल्यापटप र मोबाइल छन् । तिनले बेला बेलामा अपडेट मागिरहेका हुन्छन’, उनले भने, ‘अनि फेरि हामी त्यही काँग्रेस अपडेट हुनु पर्दैन? राम नीतिमा चलेका कारण भगवान् भए, अनि हामी नीतिमा नचलेपछि के हुने? तर नीति अनुसार हुनुपर्छ भन्ने मान्छे खै ? चुनावमा जाँदा पनि विरोध, गठबन्धन गर्दा पनि विरोध अनि यसरी मुलुक बन्छ ?’ महिलालाई ३३ प्रतिशत अधिकार दिएर राजनीतिमा ल्याउनेदेखि दलित जनजाति, अल्पसंख्यक लगायतलाई मूल धारमा ल्याउने काँग्रेसले गरेको नेता भण्डारीले बताए । मिर्गौला पीडितहरूको लागि मासिक पाँच हजार देखि स्पाइनल कर्ड, क्यान्सर लगायतका रोगमा आर्थिक सहयोग गर्ने काम पनि काँग्रेसले गरेको तर त्यो कुरा बुझ्न र बुझाउन नसक्दा काँग्रेसले चुनावमा राम्रो नतिजा ल्याउन नसकेको उनको भनाई छ । चल्नै नसक्ने पोखराको एयरपोर्ट भन्दा भारतबाट मुस्ताङ जोड्ने चार लेनको सडक बनाएको भए भारतका पर्यटकहरु नेपाल भित्रिएर पर्यटन र अर्थतन्त्र चलायमान हुन सक्थ्यो भन्ने कुरामा काँग्रेस अपडेट हुन नसकेको पनि उनको तर्क छ । ‘चल्नै नसक्ने पोखरा एयरपोर्ट बनाउनुभन्दा भारतबाट मुस्ताङ जाने चार लेनको सडक बनाउन पाएको भए कति पर्यटक भित्रिन्थे ? हामीलाई अपडेट कसले बनाउने ?’ उनले भने, ‘संविधान, लोकतन्त्र जस्ता कुरा दिएको काँग्रेसले यो अपडेट पनि दिन सक्नुपर्छ । नेपालमा सांसद मात्रै पालेर बस्ने हो भने अनि हाम्रो विकास कसरी हुने हो? प्रदेशमा १५÷ २० जना मन्त्री कसरी पाल्ने? यति राम्रो संविधान नबनाएको त होइन नि ।’

स्थानीय तहमा दिनदिनै दलगत झगडाहरू भइरहेका र दल हेरेर घर हेरेर आक्रमणहरू हुने गरेको भन्दै उनले मञ्चमा बसिरहेका सभापति देउवाको ध्यानाकर्षण गराउँदै बरु अब स्थानीय तहलाई ‘पार्टीलेस’ बनाउने बारेमा बहस चलाउन आवश्यक भएको धारणा राखे । यस्तै केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूले टिकट नपाए काँग्रेसमा भोट नै नहाल्ने पर्वत काँग्रेसको प्रवृत्तिमा सुधार आउनुपर्ने तर्क राखे । पर्वत काँग्रेस विगतदेखि नै बलियो भएको भए पनि आपसी एकता नभएकै कारण हार बेहोर्नु परेको उनको भनाई छ । पछिल्लो समय काँग्रेसमाथि प्रहार गर्ने प्रयास भएको छ । देशमा सबै खालको नेतृत्व काँग्रेसले गरेका कारण पनि काँग्रेसमाथि प्रहर भएको हो । काँग्रेसलाई प्रहार गरे मात्रै संविधान विफल गराउन सकिन्छ भन्ने त्यस्तो तत्वलाई लागेको छ ।’ २०६४ सालमा माओवादीले धेरै मत ल्याउँदा र त्यसपछि पनि काँग्रेसलाई ‘टर्च लाइट’ बालेर खोज्नुपर्ने अवस्था आउने भन्दै सबैले बोल्दा आफू पनि डराएको भन्दै उनले अहिलेको अवस्थाले सबैलाई प्रस्ट पारेको उल्लेख गरे । सोही सम्मेलनमा केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारी, किरण पौडेल, शारदा पौडेल, उर्मिला थपलिया, गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठ, गण्डकी प्रदेशका सहमहामन्त्री रामचन्द्र जोशी, नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङ, पार्टीका पूर्व सभापति खिमप्रसाद भुसाल, पूर्व सभापति नवराज गुरुङ, गण्डकी प्रदेश सदस्य यामबहादुर मल्ल, महाधिबेशन प्रतिनिधी मुना भुसाल र नेपाल दलित संघ पर्वतका अध्यक्ष याम परियार शिव लगायतले लगायतले बोल्नुभएको थियो ।

सम्मेलनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै नेपाली काँग्रेसका जिल्ला सभापति युवराज जोशीले जनजीविकाका सवालमा नेतृत्वले ध्यान दिनुपर्ने बताउनुभयो । किसानलाई बाँदरले सताएको, पानीको समस्याले गाउँ रित्तिएको, गाउँमा आर्थिक अवस्था कमजोर हुँदा युवा बिदेशिएको समस्या बारे नेतृत्वले सोच्नुपर्ने जोशीले बताउनुभयो । सभापति जोशीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत पार्टी उपसभापति डा. चुडामणी शर्माले गर्नुभएको थियो भने धन्याबाद मन्तव्य उपसभापति शिवप्रसाद सुबेदी र सञ्चालन सचिवहरु अशोक उचै ठकुरी र गुप्तनिधी शर्माले गर्नुभएको थियो । सम्मेलनमा जिल्ला कार्यसमिति, नगर तथा गाउँ, प्रदेश तथा वडा स्तरका कार्यसमितिका पदाधिकारी, सदस्य, जनप्रतिनिधि, पार्टीका विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरू सहभागी भएका थिए । सम्मेलनले पार्टी सभापति युवराज जोशीको राजनीतिक प्रतिवेदन, सचिव गुप्तनिधी शर्मा र अशोक उचै ठकुरीले सांगनिक तथा प्रगति प्रतिवेदन र कोषाध्यक्ष हेम शर्मा पौडेलले आर्थिक प्रतिवेदन पारित गरेको पार्टी सचिवालयले जनाएको छ ।