पर्वत जिल्लामा आत्माहत्या गर्ने क्रम विकराल बन्दै

असोज १९,पर्वत/ जिल्लामा आत्माहत्या गर्ने क्रम विकराल बन्दै गएको छ । आर्थिक वर्ष २०७५/७६ को साउन र भदौ दुई महिनामा छ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमध्ये अधिकाँश महिला छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याँक अनुसार आर्थिक वर्ष २०७४/७५ मा ३६ जनाले आत्महत्या गरे । यसमा झुण्डिएर आत्महत्या गर्ने २७, हाम फाली आत्महत्या गर्ने सात र विष खाई आत्महत्या गर्ने दुईजना रहेका छन् ।

आर्थिक वर्ष २०७३/७४ मा ३१ जनाले आत्महत्या गरे जसमा झुण्डिएर आत्महत्या गर्ने २६, हाम फाली आत्महत्या गर्ने चार र विष खाई आत्महत्या गर्ने एकजना छन् । आव २०७२/७३ मा २९ जनाले आत्महत्या गरेका थिए । यसमा झुण्डिएर आत्महत्या गर्ने २३, हाम फाली आत्महत्या गर्ने चार र विष खाई आत्महत्या गर्ने दुईजना रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो । तिवारीका अनुसार आत्महत्या गर्ने क्रम बढेर डरलाग्दो रुप लिन थालेको छ ।

पर्वतमा घरेलु हिंसा र आत्महत्या प्रमुख समस्याको रुपमा रहेका छन् । यस सामाजिक विकृतिविरुद्ध जनचेतना जगाउनु नै पहिलो आवश्यकता हो भन्ने निष्कर्षसहित समुदायसँग मिलेर अभियान थाल्ने कार्ययोजना बनाइएको तिवारीले बताउनुभयो । आत्महत्या गर्नेहरूमा महिला नै धेरै छन् । विदेशमा श्रीमान् रहँदा परपुरुषसँग हुने सम्बन्ध तथा एक आपसमा बढ्ने अविश्वासका कारण पनि आत्महत्याका घटना बढेको देखिएको छ ।