हाइटेक प्रविधिको तरकारी खेतीबाट आम्दानी तेब्बर

Greenhouse

असोज १७, पर्वत/ जलजला ८ का राजन सापकोटाले ६ वर्षअघिसम्म खुला आकाशमुनि तरकारी लगाउँथे । वर्षभरि दुस्ख गर्दा पनि श्रम अनुसारको आम्दानी लिन नसक्दा निरास थिए । जिल्ला कृषि विकास कार्यालयले आयोजना गरेको एक हप्ते उन्नत तरकारी खेती तालिममा उनले नौलो उपाय सुन्न पाए। लगानी थपे, प्लास्टिकका दुईवटा अस्थायी टनेल बनाए । एउटा तालिम लिँदाकै बेला पाएको प्लास्टिक थियो, अर्को आफैंले किनेका थिए । गाउँमा सस्तैमा बाँस पाइयो । चार दिनको परिश्रमपछि दुईवटा टनेल तयार भए । टनेलभित्र सिर्जना जातको गोलभेंडा लगाए । त्यसबाट एकै सिजनमा साढे २ लाख आम्दानी गर्न सफल भए । २०५४ देखि व्यावसायिक तरकारी खेतीमा लागेका उनी एक समय यो पेसा छाड्ने सोचमा पुगेका थिए । ‘लगानी उठाउनै नसकेपछि विदेश जान कस्सिएको थिएँ,’ गत साता उनले भने, ‘एक हप्ताको तालिमले मेरो जीवन उल्ट्याइदियो ।’

उनले पहिलो सिजनको गोलभेंडाको कमाइले अरू दुईवटा टनेल थपे । त्यो पनि स्थायी प्रकृतिका । फलामका डन्डी गाडेर बनाइएका ती टनेल हाइटेक प्रविधिका बनाए । अर्को सिजनको आम्दानीले पुराना अस्थायी टनेललाई पनि हाइटेक प्रविधिकै बनाए । उनका अनुसार हाइटेक प्रविधिका टनेलमा एउटा प्लास्टिकले १० वर्ष काम गर्छ । टनेलको चारैतर्फ हरियो अद्र्धपारदर्शी प्लास्टिकले बारिन्छ । जसका कारण बाहिरी कीराहरू टनेलभित्र पस्न पाउँदैनन् । भित्रको तापक्रम सन्तुलित रहन्छ । गर्मीमा हरियो प्लास्टिक निकाल्नुपर्छ । जाडो सिजनमा ढाक्नुपर्छ । अहिले सापकोटाको बारीमा चारवटा हाइटेक टनेल छन् । उनी मात्रै नभएर वरपरका किसानले पनि हाइटेक टनेलभित्र तरकारी लगाउने क्रम बढेको छ । फर्सेमा करिब सय परिवार व्यावसायिक कृषिमा आश्रित छन् । गएको तीन दशकदेखि व्यावसायिक तरकारी लगाउँदै आएको भए पनि यो प्रविधि सिकेको ६ वर्ष भयो । गाउँमा पहिलोपटक राजनले सुरु गरेको हाइटेक टनेल अहिले रामु सुवेदी, बाबुराम सुवेदी र शर्मिला क्षत्रीलगायत थुप्रै किसानको बारीमा देख्न सकिन्छ ।

केही किसान एउटैले १२ वटासम्म हाइटेक टनेल बनाएका छन् । यो टनेलभित्र लगाएको तरकारी बाहिरको भन्दा बढी फल्ने अनुभव किसानसँग छ । ‘हामीले साउनको भेल र झरीका बेला पनि रायोको साग फलाएर बेच्यौं,’ रामु सुवेदीले भने, ‘सिजनमा १० रुपैयाँमा बिक्री नहुने साग साउनमा प्रतिमुठा डेढ सयमा बेच्यौं ।’ हाइटेक टनेलभित्र विशेषगरी अचार खाने खुर्सानी, मुला, गाजर, रायो, बोडी, काँक्रा, करेला, लौका र घिरौंला लगायत तरकारी फलाउन सकिन्छ ।

हाइटेक टनेलमा तरकारी लगाउँदा रोप्ने र गोड्ने समयमा ध्यान दिनुपर्ने किसान बताउँछन् । ‘खुला खेतमा जस्तो जथाभावी रोप्नु हुँदैन,’ सापाकोटाले भने, ‘फराकिलो ड्याङ बनाएर निश्चित दूरीमा तरकारी रोप्नुपर्छ ।’ खुला आकाशमुनि लाग्ने रोगकीराको प्रकोप यस्तो टनेलमा ९० प्रतिशतभन्दा कम हुने भएकाले मल र सिँचाइमा ध्यान दिए पुग्ने उनले बताए । अहिले यहाँका किसानहरूले हाइटेक टनेलभित्र गोलभेंडा, साग र अचार खाने खुर्सानी लगाएका छन् । टनेलभित्र वर्षमा ३ देखि ४ सिजनसम्म तरकारी लगाउन सकिने किसानहरूले बताएका छन् ।

कृषि प्राविधिकहरूका अनुसार पछिल्लो समय हाइटेक टनेलमा तरकारी लगाउने किसानको संख्या बढ्दो छ । खाइखेती प्रविधिबाट व्यावसायिक आकार लिँदै गरेको पर्वतमा हाइटेक प्रविधिमा खेती गर्न थालेपछि बाहिरबाट आउने तरकारी विस्थापन भएको कृषि ज्ञानकेन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए । ‘हामीले ५ वर्षयता गरेको अध्ययनमा बर्सेनि तरकारी आयात घटिरहेको छ,’ उनले भने, ‘पछिल्ला वर्ष केही किसानले बेमौसमी तरकारी जिल्लाबाहिर बेच्दै आएका छन् ।’ जिल्लाभर करिब दुई हजार किसानले टनेलभित्र तरकारी खेती गरेको उनले बताए ।