पर्वत/नेपाली काँग्रेस फनपा -१० कुर्घाका पूर्व सभापति भवानी प्रसाद पौडेलकी आमा देवकी पौडेलको निधनप्रति काँग्रेसका नेताहरूले निवासमै पुगेर शोक प्रकट गरेका छन् ।
नेपाली काँग्रेस कुर्घा वडा कार्यसमितिको आयोजनामा सोमवार भएको शोकसभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले देवकुमारी पौडेल पार्टी र समाजको लागि एक असल मार्गदर्शक भएको वताउनुभयो । नेता जोशीले उहाँको आदर्श र सत्प्रेरणाबाट पौडेल परिवारले समेत समाजका विभिन्न इकाइहरूमा योगदान गरिरहेको वताउनु भयो । उहाँले अफ्ठ्यारो परेको बेला सहयोग गर्ने सबै काँग्रेस कार्यकर्तालाई आफूले पनि संरक्षण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।
शोकसभामा नेपाली काँग्रेसका निवर्तमान सभापति खिमप्रसाद भुसाल, नेपाली काँग्रेसका उपसभापति शिवप्रसाद सुवेदी, फलेवास नगरपालिकाका नगर प्रमुख एवं नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि गंगाधर तिवारी, महाधिवेशन प्रतिनिधि खगेन्द्रप्रसाद तिवारी, नेपाली काँग्रेस पर्वत काठमाडौं सम्पर्क समितिका सभापति ओम शर्मा चापागाईं, नेपाली काँग्रेस फलेवास नगर समितिका सभापति हिरामणी सापकोटा र वडाअध्यक्ष अमरबहादुर क्षेत्री लगायतले बोल्नुभएको थियो । साथै शोकसभामा परिवारको तर्फबाट स्वर्गीय देवकुमारी पौडेलका सुपुत्र भवानीप्रसाद पौडेलले बोल्नुभएको थियो ।
नेपाली काँग्रेस कुर्घाका सभापति मेघराज लम्सालको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन सचिव विष्णु क्षेत्रीले गर्नुभएको थियो । देवकुमारी पौडेलको ९३ बर्षको उमेरमा यही मंसिर २६ गते आफ्नै निवासमा निधन भएको थियो ।






